काठमाडौं– चलचित्र विकास बोर्डले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मी लक्षित स्वास्थ्य बिमाको लाभ लिने पहिलो व्यक्ति वरिष्ठ कलाकार रामचन्द्र अधिकारी बनेका छन्। बुधबार उनले दाबी गरेअनुरुप राष्ट्रिय बिमा कम्पनीले उपलब्ध गराएको ४६ हजार ६०० बोर्ड अध्यक्ष भुवन केसीले हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसी, नायिका पूजा शर्मा, बोर्ड सदस्य प्रकाश भट्टराईलगायत उपस्थित थिए। विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई बोर्डले विभिन्न सुविधा प्रदान गराउने योजनाअनुरुप स्वास्थ्य बिमा कार्यक्रम ल्याएको थियो। कार्यक्रमअन्तर्गत विशिष्ट परिचयपत्र प्राप्त गर्ने १०२ चलचित्रकर्मीमध्ये ९८ जनाको बिमा गरिएको थियो।
बिमा कार्यक्रममा सहभागी प्राविधिक उद्धवराज भट्टराईको निधन भइसकेको छ। परिचयपत्र प्राप्त गरेका कलाकार हरिप्रसाद रिमाल, लेखक÷निर्देशक चेतन कार्की, कलाकार शुभद्रा अधिकारी र प्राविधिक गेहेन्द्र धिमालको बिमा कार्यक्रम सुरु हुनुअगावै निधन भइसकेको थियो।
चालू बिमा कार्यक्रमअन्तर्गत अस्पतालमा भर्ना भई उपचार गर्नुपर्दा ६५ हजार र भर्ना नभई उपचार गर्नुपर्दा ३५ हजार गरी १ लाख प्राप्त गर्न सकिन्छ।राष्ट्रिय बिमा कम्पनीका प्रतिनिधि धर्म भण्डारीले यो बीमा सुविधा लिन योग्य सबैलाई रकम दाबी गर्न आग्रह गरे।