काठमाडौं– बैंक तथा वित्तिय संस्थाहरुमा एक हप्तामा २० अर्ब १० करोड रुपैयाँ निक्षेप थपिएको छ।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार पुस १ गतेदेखि ८ गतेसम्ममा वाणिज्य बैंकहरुमा सो रकम थपिएको हो। अघिल्लो हप्ताको तुलनामा निक्षेपमा २०.१० प्रतिशतले वृद्धि भएको छ। त्यस्तै सो अवधिमा जम्मा १ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ, जुन ०.८० प्रतिशतले बृद्धि हो।
बैंकर्स संघका अनुसार पुस १ गते ४६ खर्ब २५ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप ८ गतेसम्म आइपुग्दा ४६ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप पुगेको देखिन्छ। त्यस्तै कर्जातर्फ पुस १ गते ४२ खर्ब २२ अर्ब रुपैयाँ भएको निक्षेप पुस ८ गते ४२ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
नेपाल बैंकर्स संघका अनुसार साउन महिनामा मात्र कर्जा प्रवाह १ अर्ब ५२ करोड रुपैयाँले बढेको छ। त्यस्तै भदौ महिनामा १३ अर्ब, असोमा ३०, कात्तिकमा २, मंसिर महिनामा २ अर्बले कर्जा प्रवाह बढेको देखिन्छ।
त्यस्तै निक्षेप तर्फ साउन महिनामा १ खर्ब ८ अर्ब रुपैयाँले घटेको निक्षेप संकलनमा भदौमा ५२ अर्ब, असोजमा ६२ अर्ब, कात्तिकमा १६ अर्ब र मंसिरमा ५७ अर्ब रुपैयाँले निक्षेप बढेको छ।
निक्षेप बढ्दै गए पनि उद्यमी व्यवसायीहरू चर्को ब्याजमा कर्जा लिन नसक्ने अवस्थामा पुगको भन्दै ब्याजदर स्थायित्व हुनु पर्ने माग राखिरहेका छन्। हिजोमात्रै नवनियुक्त अर्थमन्त्रीलाई भेटेर उद्यमी व्यवसायीहरूले निजी क्षेत्रलाई चलायमान बनाउन तथा पुँजी निर्माण गर्न ब्याजदर स्थायित्वका लागि राष्ट्र बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने माग राखेका छन्।
लगानी योग्य पुँजी अभावका कारण महँगो ब्याजदरमा कर्जा लिन नसक्ने अवस्था आएको र यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्ने भएकोले यो अवस्था आउन नदिन आवश्यक कदम चाल्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल समक्ष राखेका थिए। चालु पुँजी कर्जाले गरेको व्यवस्थाले अझ निजी क्षेत्र मर्महत भएको गुनासो गर्दै उनले यो व्यवस्था २ वर्ष स्थगन गर्न समेत उनले सुझाएका छन्।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले पनि नेपाल आर्थिक पत्रकार संघ नाफिजसँगको भेटमा चालु पुँजी कर्जाले गरेको व्यवस्था राम्रो हुँदा हुँदै पनि अहिले सो निर्देशिकाले गरेको व्यवस्था कार्यान्वयनमा लैजाने उचित समय नभएको गुनासो गरेका थिए।