शनिबार, असार २१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • चितवनका व्यवसायीद्वारा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण

चितवनका व्यवसायीद्वारा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण

चितवनका उद्योगी तथा व्यवसायीहरुले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समग्र आर्थिक क्षेत्रको बिग्रदो अवस्थाबारे जानकारी गराएका छन्।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

भरतपुर– चितवनका उद्योगी तथा व्यवसायीहरुले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समग्र आर्थिक क्षेत्रको बिग्रदो अवस्थाबारे जानकारी गराएका छन्।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री निवासमा पुगेर ध्यानाकर्षण गराएको हो। भेटमा संघले अर्थतन्त्र जोगाउनको लागि सरकारद्धारा ठोस कदम चालिनुपर्ने धारणा राखेको हो। हाल बैंकद्धारा गरिएको ब्याजदरको वृद्धि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असहजता, मूल्यवृद्धि लगायतका कारणले गर्दा आर्थिक क्षेत्र तहसनहस भएको बताउँदै नेपाल राष्ट्र बैंकद्धारा ल्याएको चालु पूँजी मार्गदर्शन २०७९ को कार्यान्वयन कम्तिमा २ वर्ष स्थगन गर्नका लागि अनुरोध गरे।

सो अवसरममा संघका अध्यक्ष चुननारायण श्रेष्ठले सडक डिभिजन कार्यालय चितवनद्धारा यहि पुस ८ गतेदेखी भरतपुरको नारायणगढ देखी गोन्द्राङ सम्मको सडकको दायाबायाका संरचनाहरु अव्यवस्थित रुपमा डोजर लगाई भत्काउँदा व्यवसायीको ठूलो क्षति भएको बताए। भेटमा अध्यक्ष श्रेष्ठले कोभिड १९ पछि सिर्जित परिस्थिति र ब्याज वृद्धिका कारण चेपिएका व्यवसायीलाई पुस मसान्तको संघारमा आई आफ्नो सामान व्यवस्थित गर्ने समय सम्म नदिई डोजर लगाइएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै भरतपुर महानगरपालिकाद्धारा पनि संरचना भत्काउने सन्दर्भको ३५ दिने सूचना प्रकाशन गरिसकेको बताउँदै उक्त कार्य सरोकारवाला, नीजि क्षेत्र लगायतको समन्वयमा प्रक्रियागत रुपमा हुने व्यवस्थाका लागि अनुरोध गरे। 

कार्यक्रममा सरकारी ढुकुटीमा रहेको रकम प्रवाह गरी तरलता व्यवस्थापनको उपाय अबलम्बन गर्ने व्यवस्थाका लागि समेत अनुरोध गरिएको थियो। भेटमा प्रधानमन्त्री दाहालले देशको वर्तमान अवस्थाको बारेमा आफू संवेदनशिल भएको बताउँदै समस्या समाधानको लागि सामूहिक प्रयास आवश्यक रहेको बताए। संघको टोलीले नवनियुक्त प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको थियो। टोलीमा संघका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र कार्यसमिति सदस्य राजन पियाको सहभागिता रहेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताए। 


प्रकाशित: Dec 28, 2022| 11:22 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्