काठमाडौं– नेकपा माओवादी केन्द्रसँगको राजनीतिक समीकरणले नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल फेरि उप–प्रधान तथा अर्थमन्त्री बनेका छन्। उनको यो तेस्रो पटक सत्ता यात्रा हो। यसअघि एमाले र माओवादी एउटै दलमा हुँदा पौडेल अर्थमन्त्री थिए। त्यसअघि पनि पौडेललाई एमालेले अर्थमन्त्री बनाएको थियो।
अर्थमन्त्री र गभर्नरबीच चलिरहेको द्धन्द्धका कारण जर्जर बनेको अर्थतन्त्रको बागडोर सम्हाल्न पुगेका पौडेल वृद्धभत्ता बढाउने जस्ता पपुलिष्ट कार्यक्रममा कारण जनतामा पपुलर पनि छन्। उनी अर्थ मन्त्रालयमा बस्दा समन्वयकारी भूमिका निर्वाह गर्दथे।
नेकपा एमालेले नै नियुक्त गरेको गभर्नरमा महाप्रसाद अधिकारी र डेपुटी गभर्नरद्धय निलम ढुंगाना तिमल्सिना र बम बहादुर मिश्रले पनि उनलाई राम्रो साथ र सहयोग गर्ने पक्का छ। पौडेलले पछिल्लो समय अर्थमन्त्री हुँदा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठलाई प्रमुख आर्थिक सल्लाहकार बनाएका थिए।
अहिले श्रेष्ठ राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख छन्। श्रेष्ठको विभागीय नेतृत्वमा राष्ट्र बैंकले मौद्रिक नीति बनाइरहेको छ। जसले आगामी मौद्रिक नीतिको त्रैमासिक समिक्षा मार्फत नै देशको आर्थिक नीतिमा केही असर पर्ने खालका नीतिहरु जारी हुने पक्का छ। एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि २०७२ असोजमा पौडेल अर्थमन्त्री भएका थिए। त्यसबेला उनी पार्टीमा उपमहासचिव थिए।
हाल अर्थमन्त्रीका रुपमा काम गरेका जनार्दशन शर्माले अर्थतन्त्र डामाडोल पारेका छन्। उनले मनपरी ढंगले बजेट ल्याउने, करका नीतिहरुमा हेरफेर गर्ने गर्दा अर्थतन्त्र चौपट भइरहेको छ। चालू आर्थिक बर्षको बजेटपछि सरकारले चालुखर्चको लागि पनि ऋण लिन पर्ने अवस्था छ। यसको समाधानको लागि पनि काम गर्नुपर्ने चुनौति पौडेलमा रहेको छ। बाह्य क्षेत्र सुधारोन्मुख देखिए पनि आयात कटौतिका कारण हो। जुन बाह्य क्षेत्रको समस्या कम गराउने दीर्घकालिन उपाय होइन।
बाह्य क्षेत्रको दवाव कम गर्न, बढीरहेको मूल्यवृद्धिलाई कम गर्न र व्याजदरलाई एकल अंकमा झार्नुपर्ने चुनौति पोडेलमा छ। त्यस्तै चालु पुँजी कर्जाका कार्यविधिका कारण समस्या आएको भन्दै व्यापारी व्यवसायीहरु आन्दोलनमा छन्। उनीहरुको व्यापार व्यवसाय चौपट छ।
आयातमा नगद मार्जिन राखेको भन्दै अटो व्यवसायीहरु पनि आन्दोलनमा रहेका छन्। करिव ८ प्रतिशतको हाराहारीमा मूल्यवृद्धि हँुदा जनताको भान्सा प्रभावित भएको छ। घरजग्गाको कारोबारमा आएको मन्दीले सहकारीहरु समस्यामा परेका छन्। जसले अनौपचारिक क्षेत्र समेत तहस नहस बनेको छ।
नेपालको आन्तरिक अर्थतन्त्र मन्दी उन्मुख रहेको छ।
यी यावत् समस्याका बाबजुद पोडेलको हातमा अवसर पनि छ। डामाडोल अर्थतन्त्रलाई राम्रो दिशा दिएर ट्रयाकमा ल्याउन सकेमा अर्थमन्त्रीको रुपमा पौडेल सफल हुने देखिन्छ। निजी क्षेत्रको मागलाई सम्बोधन गर्दै राष्ट्र बैंकसँग हातेमालो गरी अगाडि बढेर अर्थतन्त्रलाई चलायमान बनाउन सके पौडेल सफल अर्थमन्त्रीको रुपमा दर्ज हुने पक्का छ। अर्थ मन्त्रालयमा अनुभवी कर्मचारीलाई स्थान दिएर राम्रो नीति बनाइ आगाडी बढ्न सकेमा पौडेलले इतिहास राख्ने पक्का छ। तर त्यसको लागि सल्लाहकारहरु भने देशको अर्थतन्त्रको हितमा काम गर्ने हुनु जरुरी छ।
पौडेल निजी क्षेत्रमैत्री नै छन्, यसअघि अर्थमन्त्री हुँदा पनि उनले निजी क्षेत्रलाई साथ लिने प्रयास गरेका थिए। त्यसअघि जलस्रोत मन्त्री छँदा उनले लामो समयदेखि पुनरावलोकन नभएको विद्युत खरिद सम्झौता व्यवसायीको माग अनुसार चलाएका थिए। उनले त्यसबेला पीपीए दर बढाएर हिउँदमा ७ र बर्खामा ४ रुपैयाँ पु¥याएका थिए। उनीमाथि बालुवाटारको जग्गा हत्याएको आरोप लागेको छ। उनले आफू अर्थमन्त्री हुँदा वृद्ध भत्ता बढाएका थिए।
विष्णु पौडेलको सत्ता यात्रा
२०५३ चैत्र १२ देखि २०५४ असोज १० सम्म युवा, खेलकुद तथा संस्कृतिमन्त्री
२०६५ भदौ ६ देखि २०६६ जेठ ७ सम्म जलस्रोतमन्त्री
२०६७ चैत्र ३ देखि २०६८ भदौ ११ सम्म रक्षामन्त्री
२०७२ कात्तिक १९ देखि २०७३ साउन १९ सम्म पनि अर्थमन्त्री
२०७७ असोज २८ देखि २०७८ बैशाख ३१ सम्म अर्थमन्त्री
२०७८ जेठ १ देखि २०७८ असार २९ सम्म उप्रधानमन्त्री तथा अर्थमन्त्री
२०७९ पुस ११ देखि उपप्रधान तथा अर्थमन्त्री