काठमाडौं– विवादै विवादका बीच अर्थमन्त्रीबाट नेकपा माओवादीका नेता जनार्दन शर्मा बाहिरिएका छन्। १७ महिना राज्यको भँडारे ९अर्थमन्त्री० को रुपमा रहेका शर्माको कार्यकाल विवादित बन्यो। उर्जामन्त्री हुँदा ‘उज्यालो नेपाल अभियान’ को जस पाएका मन्त्री शर्मा अर्थमन्त्री हुँदा निलम्बनमा परे भने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पनि निलम्बनमा पारे।
उनलाई नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको, गभर्नरसँग व्यक्तिगत रिसिवी साँधेर देशको अर्थतन्त्र नै खतरामा पारेको आरोप छ। अर्थमन्त्री नियुक्त भएपछि निकै आश गरिएका मन्त्रीमा परेका थिए शर्मा। हकी स्वाभावका शर्मालाई अधिकांशले अर्थतन्त्रलाई राम्रोसँग डोर्याउने क्षमता राख्छन् भन्ने आकलन गरिएको थियो। तर अर्थ मन्त्रालयका अनुभवी कर्मचारी सरुवाबाट आफ्नो असफलताको यात्रा सुरु गरेका मन्त्री शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको औठाछाप बन्न पुग्दा असफल अर्थमन्त्रीको ट्याग भिरेर बाहिरिन परेको छ।
सिसिटिभी फुटेज काण्ड
उनी अर्थमन्त्री बन्दा सवैभन्दा विवादित र सर्वाधिक चर्चामा रहेको विषय हो सिसिटीभि फुटेज काण्ड। चालु आर्थिक बर्षको बजेट निर्माणका क्रममा निजी क्षेत्रका विचौलियाको प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप उनीमा रहेको छ। उनले विचौलिया प्रवेश गराएको सिसिटीभि फुटेजमा देखिने भए पनि उनले संसदीय छानविन समितिलाई सिसिटिभी फुटेज प्रदान गर्न सकेनन्।
कर्मचारीहरुलाई थर्काएर सो फुटेज मेट्न लगाएको आरोप उनीमा छ। भलै उनलाई संसदीय छानविन समितिले नेकपा एमालेका सदस्यहरुको असहमतिका बाबजुत पनि क्लीन चिट त दियो र उनको छवी भने सिसिटीभि फुटेज डिलिट गरेर र निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई घुर्की देखाएर अर्थमन्त्रीको रुपमा टिक्ने मन्त्रीको रुपमा जनताले बुझेका छन्। जनताबाट भने अझैपनि उनले क्लीन चिट पाएका छैनन्।
सीमित घरानालाई लाभ पुग्नेगरी बजेट बनाएको आरोप
अर्थमन्त्री हुँदा शर्माले सिमित घरानालाई मात्र फाइदा पुग्नेगरी बजेट बनाएको आरोप लाग्ने गरेको छ। उनले शंकर ग्रुप, मुरार ग्रुप लगायतका केही सिमित घरानालाई मात्र बढी प्राथमिकतामा राखेर नीति बजेट ल्याएको आरोप निजी क्षेत्र स्वयंले लगाउँदै आएको थियो। उनले विलेट आयातमा बढाएको भन्सार शुल्कका कारण अहिलेसम्म स्टील उद्योगहरु उठ्न सकेनन्।
उनले चालु आर्थिक बर्षको बजेट मार्फत स्पन्ज आइरनमा लाग्दै आएको भन्सार शुल्क शून्य बनाएका थिए। त्यसबाट ६ वटा छड उद्योगहरु मात्र फस्टाएका थिए भने बाँकी २४ वटा छड उद्योगहरु घाटामा गएका थिए। हाल १२–१३ वटा उद्योगहरु चल्नै नसक्ने अवस्थामा रहेका छन्।
त्यस्तै उनले सेनीटरी प्याडको आयातमा गरिएको भन्सार छुट, मदिरा, तार जाली लगायतमा गरेको कबृद्धिका कारण अधिकांश उद्योगहरु टाट पल्टने अवस्थामा पुगेका छन्। बजेट मार्फत केही व्यपाारिक घरानाहरुले मात्र लाभ लिएका छन्।
गभर्नरलाई निलम्बन–गभर्नरसँगको दुरी कायमै
राजनीतिक पूर्वाग्रह राखेर आफूलाई सहयोग नगरेको भन्दै गभर्नर महाप्रसाद अधिकारीलाई अथर्मन्त्री शर्माले छानविन प्रकृया अगाडिी बढाए। जसका कारण गभर्नर अधिकारी निलम्वनमा परे। आफू निलम्वनमा पर्ने वित्तिकै गभर्नर अधिकारी सर्वोच्चको ढोका ढकढक्याउन पुगे। उनलाई सर्वोच्च अदालतले पुनर्वहाली गर्यो। जसका कारण अहिलेसम्म पनि गभर्नर अधिकारी र अर्थमन्त्री शर्माको दुरी बढिरहेको छ। उनीहरुको बढ्दो दूरीका कारण अर्थतन्त्रमा समेत नकारात्मक असर पर्यो। सोमबार अर्थमन्त्री शर्मा बाहिरिँदै गर्दा पनि नेपाल राष्ट्र बैंकको कोही पनि देखिएनन्।
लघुबीमा लाइसेन्स वितरण गर्दा चुनावी खर्च उठाएको आरोप
अर्थमन्त्री शर्मालाई लघुबीमाको लाइसेन्स वितरण गर्दा चुनावी खर्च उठाएको र केही सिमित घरानालाई मात्र लाइसेन्स दिएको आरोप छ। बीमा प्राधिकरणले केही महिना अघि जारी गरेको लघुबीमाको कम्पनीलाई दिइएको लाइसेन्स र उनीहरुको संचालक हेर्दा यो कुराको पुष्टी हुन्छ।
नयाँ स्टक एक्सचेन्ज खोल्नका लागि आर्थिक चलखेल गरेको आरोप
नेपाल धितोपत्र बोर्डमा नियुक्त गरिएको अध्यक्षदेखि नै विवादमा तानिएका अर्थमन्त्रीले नयाँ स्टक एक्सचेन्ज ल्याउनका लागि आर्थिक चलखेल गरेको पनि आरोप छ। हुन त अझै नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रकृयामा नै रहेको छ तर बोर्डको अध्यक्ष मार्फत आर्थिक चलखेलमा सामेल भएको आरोप नेपाल स्टक एक्सचेन्जका कर्मचारीहरुले लगाउँदै आइरहेका छन्। नेपालमा हाल एकमात्र स्टक एक्सचेन्ज रहेको र देशको अर्थतन्त्र नै सानो हुँदा लगानीकर्ताको लागि अर्को स्टक एक्चेन्ज नल्याएर भएकोलाई नै स्तर वृद्धि गर्न नेप्सेले आग्रह गर्दै आइरहेको छ।
त्यस्तै अर्थमन्त्री शर्मा अर्थतन्त्र खराव अवस्थामा रहेको बेला बनेका अभागी अर्थमन्त्री हुन्। उनको पालामा शोधनान्तर घाटा र बैदेशिक विनिमय संचिति कम भएर रेकर्ड बनाएको छ। त्यस्तै केही बस्तुको आयात रोक्नपरेको थियो भने केही बस्तुको आयातमा ५० प्रतिशत र शतप्रतिशत नगद मार्जिनको व्यवस्था समेत गर्नुपरेको छ।
त्यस्तै उनी अर्थमन्त्री भएकै समयमा सेयर लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन्। जसका कारण उनीप्रति लगानीकर्ताहरुको पनि राम्रो दृष्टि रहेन। उनको कार्यकाल सकिएकै दिन सेयर बजारमा हरियाली छाएको छ।
सोमबार अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयका कर्मचारी र पत्रकारहलाई छुट्टाछुट्टै धन्यवादको कार्यक्रम आयोजना गरेका थिए। उनले आफूले अर्थमन्त्रीको जिम्मेवारी राम्रोसँग निर्वाह गरेको पनि दावी गरे। तर उनले आफू असफल रहनुमा प्रधानमन्त्री र केही अमुक व्यक्तिको हात रहेको जिकिर गरे। अमुक व्यक्ति को हो भनेर भने भन्न चाहेनन्। शर्माले आफूले नगरेका कुरामा पनि अनेक लाञ्छना लगाइएको बताए। अनेक आलोचनाका बाबजुद पनि आफूलै धेरै गर्न सकेको भन्दै राम्रा कामको फेहरिस्तसमेत सुनाएका थिए। बाह्य क्षेत्र दवावमा भएको समयमा आयातमा रोक लगाएर भने अर्थमन्त्री जनार्दन शर्माले राम्रो नीतिगत निर्णय पनि गरेका छन्।