मंगलबार, वैशाख १६, २०८२

४० लाख खोप थन्कियो, बुस्टर डोज छैन

नेपालमा हाल करिब ४० लाख भ्याक्सिन मौज्दातमा भए पनि उक्त भ्याक्सिन विभिन्न प्राविधिक कारणले बुस्टर डोजका रूपमा लगाउन नमिल्ने जनाइएको छ।
 |  सोमबार, पुस ११, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, पुस ११, २०७९

काठमाडौं- छिमेकी मुलुकमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएर फैलिएपछि नेपालमा पनि सतर्कताका लागि सरकारले आह्वान गरेको छ। कोभिड १९ को नयाँ भेरियन्ट बीएफ-७ को संक्रमण नेपालमा हालसम्म नदेखिए पनि सर्तकता अपनाउन सरकारको आग्रह छ। अरु भेरियन्ट भन्दा तीब्र रूपमा संक्रमण गर्ने यो भेरियन्ट छिमेकी मुलुक चीन तथा भारतमा देखिएको छ। 

खुल्ला सिमाना र मानिसको आवात-जावतका कारण नेपालमा पनि यस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले थप सतर्कता अपनाउन आग्रह गरेको छ। सरकारले सिमा नाका तथा अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल भित्रने यात्रुको ज्वरो नाप गर्ने, शंकास्पद व्यक्तिको एन्टीजेन टेष्ट र जीन सिक्वेन्सिङ गर्ने कार्य गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता सञ्जय कुमार ठाकुरले बताए। 

सरकारले छिमेकी मुलुकमा कोरोना संक्रमणले तीब्रता लिएसँगै सरकारले जनस्वास्थ्य मापदण्डको पालना गर्न र यसविरुद्धको खोपको बुस्टर लगाउन भनेको छ। तर, नेपालमा कोरोनाको नयाँ भेरियन्टलाई कम गर्ने कोरोनाविरुद्दको भ्याक्सिन छैन। नेपालमा हाल करिब ४० लाख भ्याक्सिन मौज्दातमा भए पनि उक्त भ्याक्सिन विभिन्न प्राविधिक कारणले बुस्टर डोजका रूपमा लगाउन नमिल्ने जनाइएको छ। 

'चीन सरकारले अनुदानमा दिएको कोभिडविरुद्धको ४० लाख डोज साइनोभ्याक खोप व्यवस्थापन महाशाखा अन्तरगर्तको आपूर्ति व्यवस्था शाखामा छ। सो खोप बुस्टरको लागि प्रयोग गर्न मिल्दैन,' महाशाखाका खोप शाखा प्रमुख सुरेन्द्र चौरासियाले भने। विश्व स्वास्थ्य संगठनले पनि उक्त खोपलाई बुस्टर डोजको रूपमा प्रयोग गर्न अनुमति दिएको छैन। पहिलो र दोस्रो डोजका लागि उक्त खोप प्रयोग गर्न मिल्छ तर नेपालमा प्रायजसोले पहिलो र दोस्रो डोज खोप लगाइसकेकाले उक्त खोप प्रयोग गर्न नमिल्ने जनाइएको छ। उक्त खोपको म्याद अझै एक बर्ष बाँकी भए पनि सो खोप प्रयोगविहीन भएको छ। 

कोरोना संक्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको संख्या कम हुनु र नेपालमा ठूलो संख्यामा भ्याक्सिन मौज्दात भएकाले तीन महिनादेखि कोरोनाविरुद्दको खोप भित्रिएको थिएन। 

Metro Mart
worldlink

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका अनुसार सरकारले हाल बुस्टर डोजका लागि खोप ल्याउने तयारी गरिरहेको छ। स्वास्थ्य सेवा विभागले गाभीमार्फत फाइजरको नयाँ खोप ल्याउन लागेको छ। नयाँ भेरियन्टका लागि विश्व स्वास्थ्य संगठनले फाइजर खोपलाई सिफारिस गरीसकेको छ। 

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा निर्देशक डा. बिवेक कुमार लालका अनुसार थप भ्याक्सिन ल्याउन विभागले औषधि व्यवस्था विभागसँग अनुमति मागेको छ। यसअगाडि आइरहेको फाइजर भन्दा यो खोप केही फरक भएकोले पुन: अनुमति लिनुपरेको उनले बताए।

विभागबाट आकस्मिक प्रयोगका लागि अनुमति पाउनासाथ कोभ्याक्समा पठाउने र त्यस लगत्तै १५ लाख डोज खोप आउने उनले बताए। लालले पहिले अध्यादेशमार्फत आकस्मिक प्रयोगका लागि खोपको अनुमति लिइएको थियो तर हाल औषधि ऐन अनुसार औषधि सल्लाहकार समितिबाट अनुमति लिएर मात्रै ल्याउनुपर्ने छ। 

आपूर्ति शखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार नेपालमा ९२ लाख फाइजरको भ्याक्सिन आउने निश्चित भएको थियो। प्रत्येक महिनामा भ्याक्सिन ल्याउने निश्चित भए पदि खोप खपत हुन छोडेपछि ल्याउन निश्चित भएको खोप पनि नल्याइएको उनले बताए। अब खोप आवश्यक पर्ने देखिएकाले ल्याउने तयारी भइरहेको चौरासियाले जानकारी दिए।

प्रकाशित: Dec 26, 2022| 08:00 सोमबार, पुस ११, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्