आइतबार, असार २२, २०८२

टीकापुरमा हात्ती र पशुको त्रासले आलुखेती

सिँचाइ आयोजना कृषितर्फको सहयोगमा टीकापुरमा ५० हेक्टरमा आलुखेती विस्तार र ४४ हेक्टरमा आलुको ब्लक खेती गरिएको छ।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

टीकापुर- कैलालीको टीकापुर-८ श्रीलङ्कामा जङ्गली जनावर हात्ती र छाडा पशुचौपायाका डरले आलुखेती गरिएको छ। श्रीलङ्काका स्थानीय किसानले यहाँको माटो बलौटे रहेकाले आलुखेतीका लागि उत्तम रहेको र आलुखेतीलाई पशुबाट जोगाउन सहज हुने भएकाले यो खेती रोजेको बताएका छन्।

किसानलाई आलुखेतीका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले सघाएको छ। आयोजनाले त्यहाँका किसानलाई साढे २२ बिघा जमिनमा सामूहिकरूपमा आलुको ब्लक प्रदर्शनका लागि सघाएको छ। त्यसका साथै व्यक्तिगतरूपमा खेती गर्नेका लागिसमेत सहयोग गरेको छ।

सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइको सहयोगपछि स्थानीय किसान मिलेर खेती गरेका हुन्। ‘श्रीलङ्कामा हात्तीको आतङ्क बढी हुने, छाडा पशुले बाली नोक्सान गर्ने र यहाँको माटो बलौटे भएकाले आलुखेतीको ब्लक स्थापाना गरी खेती गरिरहेका छौं’, किसान धनसिंह साउदले भने, ‘यहाँ अधिकांशले उखुखेती गर्ने गरेका थिए। उखुखेतीलाई हात्तीले बढी नोक्सान गर्ने गरेका छ। त्यसैले यसपटक हामीले आलुखेती गरेका हौँ।’

साउदले आलुखेती छिटो उत्पादन लिन सकिने र जनावरले कम नोक्सान गर्ने बताउद। ‘हामीले आलुखेती बीउ उत्पादनका लागि गरेका छौँ, तरकारीका लागि व्यक्तिगतरूपमा पनि खेती गरेका छौं’, उनले भने, ‘सिंचाइ आयोजनाले कृषकको समूहलाई आलुखेतीका लागि मेसिन, बीउ र प्रविधिलगायतमा सघाउन रु २० लाख सघाएको छ।’

सिँचाइ आयोजना कृषितर्फको सहयोगमा टीकापुरमा ५० हेक्टरमा आलुखेती विस्तार र ४४ हेक्टरमा आलुको ब्लक खेती गरिएको छ। आयोजनाले यस वर्ष आलुखेती विस्तार र आलुको ब्लक स्थापनाका लागि किसानको मागका आधारमा सघाएको हो। आयोजनाले ४४ हेक्टरमा दुईवटा ब्लकमा ब्लक खेती गरेको हो।

आयोजनाले टीकापुर–३ स्थित रामपुर कटानपुर र टीकापुर–८ श्रीलङ्कामा आलुको ब्लक स्थापनामा किसानलाई सघाएको आयोजनाले जानकारी दिएको छ।

आयोजनाले आलुखेती विस्तारअन्तर्गत दुई सय ११ जना किसान छनोट गरी ५० हेक्टर क्षेत्रफलमा आलु विस्तारका लागि सघाएको बाली विकास अधिकृत जय महतराले बताए। ‘हामीले सूचना गरेका थियौँ, सूचनामा माग गरेका किसानले यो सुविधा पाएका हुन्’, उनी भन्छन्, ‘हामीले प्रविधि, सिँचाइ, मल, बीउ, विषादी र सुक्ष्म तत्वजस्ता सहयोग गर्छौँ। यसले किसानलाई कृषितर्फ आकर्षित गर्छ।’

कृषितर्फ कार्यान्वयन एकाइले आलुखेतीलाई बढावा दिँदै यहाँ फलेको आलु शीतभण्डारमा भण्डारण गरेमा यहाँ आलुको आयात घटाउने लक्ष्य लिएको बाली विकास अधिकृत महतरा बताउँछन्।

आयोजनाको सहयोगमा यहाँका २११ किसानले व्यावसायिक खेती गरिरहेका छन्। आयोजनाले यसका साथै धान बाली, गहुँ बाली, तरकारी खेती तथा फलफूल खेतीमा समेत किसानलाई सघाउँदै आएको छ। आयोजनाले किसानलाई कृषि औजार वितरणकार्यसमेत हरेक वर्ष गर्दै आएको छ।

आयोजनाको सहयोगमा यहाँका अधिकांश किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन्। आयोजनाले खेतीमा लगानीसँगै किसानको खेती र उत्पादनको पनि नियमित अनुगमन गर्न आवश्यक रहेको किसान अगुवा रामफल चौधरी बताउँछन्।

‘आयोजनाको सहयोगमा खेती गरिरहेका र आयोजनाबाट पटक–पटक लाभ लिएका किसानको खेतीको अवस्था नियमित अनुगमन गर्नुपर्छ’, उनी भन्छन् ,’आयोजनाबाट सहयोग तथा अनुदान पाउनेमा सधैँभरि एउटै किसान छनोट कार्यसमेत अन्त्य गर्नुपर्छ। नयाँ किसानलाई कृषिमा आकर्षित गराउने खालका कार्यक्रम पनि ल्याउनुपर्छ।’

प्रकाशित: Dec 25, 2022| 20:00 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्