बुधबार, साउन २९, २०८२

बुटवलमा गुञ्जियो नेपथ्य

तीन साताअघि सुरु भएको लोकरक ब्यान्ड नेपथ्यको मुलुक यात्रा शनिबार बेलुकी रामनगर खेलमैदानमा आयोजना गरिएको हो।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

बुटवल– सांगीतिक ब्यान्ड नेपथ्यले बुटवलमा उल्लेख्य संख्यामा दर्शक उपस्थितिबीच भव्य कन्सर्ट सम्पन्न गरेको छ। तीन साताअघि सुरु भएको लोकरक ब्यान्ड नेपथ्यको मुलुक यात्रा शनिबार बेलुकी रामनगर खेलमैदानमा आयोजना गरिएको हो।

सुरुमा दुई वटा म्युजिक भिडियो देखाउन थालेदेखि नै दर्शकमा उत्साह सुरु भइसकेको थियो। ब्यान्डले पहिलो प्रस्तुतिका रुपमा ‘आँगनैभरि हिउँ नै झरे’ गीत सुनायो। ब्यान्डकै यो पहिलो सिर्जना प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिर देखाइएको थियो। 

गीत अघि बढ्दै जाँदा ब्याण्डले बितेका ३३ वर्षमा गरेको यात्राको झलक आउने गरी तस्बिर संयोजन गरिएको थियो। नेपथ्य बुटवलमा यसअघि सात पटक आफ्नो प्रस्तुति लिएर उपस्थित भइसकेको छ। त्यसमध्ये ‘शान्तिका लागि शिक्षा’ अभियान लिएरै तीन पटक आएको थियो। अघिल्लो पटक सन् २०१८ मा यहाँको रंगशालामा खुला प्रस्तुतिसहित ब्यान्ड उपस्थित भएको थियो।

विराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगञ्ज, धनगढी र सुर्खेतपछि यस पटकको शृंखलामा यो आठौं प्रस्तुति थियो। बुटवलले न्यानो स्वागतको संकेत ब्यान्ड यस सहरमा उपस्थित भएको क्षणदेखि नै दिएको थियो।

७० सदस्यीय टोली वीरेन्द्रनगर सुर्खेतबाट आइपुग्दै गर्दा ब्यान्डका सदस्यलाई बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डे र उपप्रमुख सावित्रादेवी अर्यालले होटलको ढोकामै फूलमालासहित स्वागत गरेका थिए। ‘नेपथ्यलाई मनोरञ्जनका हिसाबले मात्र बुझिनु अधुरो हुन जान्छ,’ स्वागतपछिको औपचारिक कार्यक्रममा नगरप्रमुख पाण्डेले भने, ‘यो ब्यान्ड हाम्रो नेपाली पहिचान र संस्कृतिको योद्धा पनि हो।’

शनिबार बेलुकी नेपथ्यको कन्सर्टमा नगरप्रमुख पाण्डेले सुरुदेखि अन्तिमसम्मै सहभागिता जनाए। ब्यान्डले दोस्रो गीतका रुपमा ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत गरेको थियो। त्यतिबेला सधंैजस्तै रामनगर खेलमैदानमा पनि इफेक्टको प्रयोग गरेर मञ्चअगाडि हिउँ झरेको देखाइएको थियो। कार्यक्रम अघि बढ्दै जाँदा टोलीले अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाएर सुनायो।

त्यसपछि ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ दर्शकसँग भलाकुसारी गर्न अघि बढे। ‘संगीतसँगसँगै मानवताको सेवा गर्ने उद्देश्यले यहाँ आउनुभएका सबै दर्शकलाई स्वागत गर्न चाहन्छु,’ उनले थपे, ‘हिमाल, पहाड र मधेसदेखि बुटवलमा जम्मा भई यो ठाउँ गुलजार बनाइदिने तपाईंहरु सबैलाई धन्यवाद।’

त्यसपछि गाउन थाले

‘खान्नँ म त लामपाते सुरती

लाउँ कि नलाउँ जुग जाने पिरती’

त्यसपछि नेपथ्यको अर्को पुरानो गीत थियो

‘चरी मर्‍यो सिसैको गोलीले’

यो गीत बुटवल छेउकै तानसेन सहरमा कुनै समय त्यहाँको देउराली ब्यान्डले जन्माएको थियो। उक्त ब्यान्डबाटै यो सिर्जना नेपथ्यले प्राप्त गरेको हो। ‘उहिले दक्षिणतर्फको अकास खुला भएका बेला रुपन्देही छेउको भारतीय बजार नौतनवातिर गुड्दै गरेको रेल तानसेनबाट देखिन्थ्यो रे!’ गीतमा प्रयोग गरिएको उडायो रेलैले भन्ने शब्दलाई अथ्र्याउँदै अमृत भन्छन्, ‘त्यसरी देखिने रेल झट्ट हेर्दा बादल माथिबाट गुडिरहेको भान पथ्र्यो। त्यही भावभूमि समातेर त्यो शब्दले उडेको रेलको परिकल्पना गरेको हो।’

लगत्तै ‘जोमसोमे बजारमा’ सुनाएपछि अमृतले फेरि दर्शकसँग संवाद गर्दै नेपालमा विश्वमै अन्त कतै नभएका अग्ला हिमाल, मनोरम पहाड र शान्तिको उज्यालो छर्ने गौतम बुद्धको जन्मस्थल रहेको उल्लेख गरे। त्यसपछि बुटवलकै माथि अर्को भेग धौलागिरितिर तयार पारिएको गीत सुनाए

‘शिरफूल शिरैमा वनफूल वनैमा

हिउँको फूल धौलासिरीमा’

यी गीत र यसले ओगटेका फरक–फरक भूमिको बयान गरिरहँदा गायक अमृतले उपस्थित श्रोता, दर्शकलाई आन्तरिक पर्यटकका रुपमा घुमेर आफ्नो मुलुकलाई चिन्न अनुरोध गरिरहेका थिए। त्यसपछि गाइएको गीत झनै बुटवलकै बाटो भएर लाहुर आउजाउ गर्नेहरुले ओसारेका थिए

‘नैनाताल नैनाताल

घुमी आयो रेल

आँखामा लाउने कालो गाजल

बुलबुलेमा तेल’

गीतसँगै उनले आफ्ना पुर्खाको अनुभव अघि सार्दै गोर्खा भर्तीका सुखदुःख पनि सुनाए। घरपरिवारबाट निकालिएर सडकमा आश्रित बन्न पुगेका मुलुकभरका नागरिकको सेवामा खटिएको मानव सेवाश्रमसँग मिलेर नेपथ्यले यस पटकको देश दौडाहा गरेको हो।

यसै क्रममा ब्यान्डको अर्को सर्वकालिक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवका मन छुने तस्बिर देखाइएको थियो। बुटवल कन्सर्टको अर्को महत्त्वपूर्ण विशेषता नेपथ्यले भर्खरै तयार पारेको गीत ‘भटभटे’ पनि बन्न पुग्यो। ब्यान्डको यस नौलो गीतलाई बुटवलकै मैदानमा शनिबार पहिलो पटक प्रस्तुत गरियो।

‘भटटट भटटट भटभटे आयो

बाटो छोड छोड छोड’

हाम्रा सहरबजारमा तन्नेरीमाझ मोटरसाइकलको चल्ती बढ्दै गएको सन्दर्भ समातेर तयार पारिएको यो गीतमा युवा पुस्ताको असन्तुष्टि झल्किन्छ।त्यसपछि ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो। अमृतले मञ्चबाट यो गीत गाइरहँदा बुटवल रंगशालामा भरिएका अधिकांश दर्शकले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो। 

कार्यक्रमको अन्त्यतिर सधैंझैं दर्शक रोजाइका गीत सोध्दै नेपथ्यको सर्वकालिक हिट गीत ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो। बुटवलको कन्सर्टपछि ७० सदस्यीय नेपथ्य टोली पाँच वटा ट्रक र दुई वटा बसमार्फत आइतबार पोखरा लागेको छ, जसले १२ पुसमा त्यहाँ सांगीतिक प्रस्तुति पस्किनेछ।

प्रकाशित: Dec 25, 2022| 13:32 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।