काठमाडौं– भन्सार विभागले चालू आर्थिक वर्षको ५ महिने अवधिमा ६ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्यांक सार्वजनिक गरेको छ। विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा २०.७१ प्रतिशतले आयात घटेको छ। गत आवको यही अवधिमा विदेशबाट ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।
यस्तै, ५ महिने अवधिमा नेपालबाट ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। गत वर्षको यही अवधिमा नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो, जुन यो वर्षको तुलनामा ३४.६१ प्रतिशत बढी हो।
आयात र निर्यात घटेसँगै नेपालको वैदेशिक व्यापारसमेत खुम्चिएको छ। गत आर्थिक वर्षको ९ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो। यो वर्षको ५ महिने अवधिमा ७ खर्ब ३२ अर्ब ५ करोड बराबरको वैदेशिक व्यापार भएको छ, जुन गत वर्षको तुलनामा २२.२३ प्रतिशत कम हो।
विभागका अनुसार चालू वर्षमा नेपालको वैदेशिक व्यापार घाटासमेत घटेको छ। आयात खुम्चिएपछि चालू वर्षको ५ महिने अवधिमा १८.७७ प्रतिशतले व्यापार घाटा खुम्चिएको हो। गत वर्ष ७ खर्ब ३५ अर्ब ४८ करोड रूपैयाँ व्यापार घाटा भएको थियो, जुन यो वर्ष ५ खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँमा सीमित छ।