पाल्पा– गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, पाल्पालगायत जिल्लाका किसानको कृषि उपज भण्डारण गर्न निर्माण सुरु गरिएको चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र परेको छ। तानसेन नगरपालिका–७ बाघखोरमा दुई वर्षमा सक्ने गरी निर्माण सुरु भएको चिस्यान केन्द्रको १० वर्षमा २७ प्रतिशत मात्र काम सकिएको हो।
३३ फिट अग्लो, २६ मिटर लम्बाइ र १४ मिटर चौडाइको चिस्यान केन्द्र २ हजार टन कृषि उपज राख्न सकिने क्षमताको छ। भारतीय दूतावासको सहयोगमा निर्माण थालिएको चिस्यान केन्द्र ४ करोड ९९ लाख ९१ हजार ९०५ रुपैयाँ लागतमा सम्पन्न गर्ने सम्झौता भएको थियो।
२३ फागुन २०६९ मा सम्झौता गरेको निर्माण कम्पनीले २३ जेठ २०७१ मा काम सक्ने लक्ष्य थियो। १० वर्षमा निर्माण कम्पनीले २७ प्रतिशत मात्र भौतिक प्रगति गरेको तानसेन नगरपालिकाका प्राविधिक टीकाराम सोमैले जानकारी दिए। ‘निर्माण कम्पनीले कामै गरेन। पाँच पटक म्याद थप गरिसकेका छौं’, सोमैले भने, ‘फेरि म्याद थपका लागि आएको छ। काम गर्छन् भन्नेमा विश्वस्त हुन सकिएको छैन।’
यस क्षेत्रमा तत्काल बजारमा खपत हुनेभन्दा बढी उत्पादन भएका तरकारी, फलफूल, अदुवा, दूधलगायत कृषि उत्पादन भण्डारण गर्न किसानको मागअनुसार केन्द्र निर्माण सुरु गरिएको थियो। तानसेनमा सो केन्द्र निर्माण पछि उत्साही यहाँका कृषक निर्माण कार्यमा भएको ढिलाइले पुनः निरुत्साही भएका छन्।
निर्माण कम्पनी हिमडुंग एन्ड थोकर र जय रक्तकाली जेबीले तानसेन नगरपालिकाबाट २ करोड बढी रकम भुक्तानी लगेका छन्। आर्थिक सहयोग गरेको भारतीय दूतावासले चिस्यान केन्द्रको अवलोकन गरेको छ।
दूतावासका द्वितीय सचिव प्रशान्त सोनाले निर्माण कार्य सुरु गर्न अनुरोध गरेको तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिए। समयमा काम सम्पन्न नभएपछि तानसेन नगरपालिकाले पूर्वनिधारित क्षतिपूर्ति ४८ लाख रकम तिर्न निर्माण कम्पनीलाई पत्राचार गरेको थियो।
पूर्वनिर्धारित योजना र सम्झौताअनुसार काम नगरेको भन्दै पटक–पटक परिपत्र गर्दै आएको नगरपालिकाले अन्य कम्पनी छनोट गरेर भए पनि योजना सम्पन्न गर्ने उल्लेख गरेको छ। प्रवक्ता यादवसिं कार्कीले नपुग रकम नगरपालिकाबाट थप गरेर भए पनि निर्माण सुरु गरिने बताए।
‘तानसेनको गौरवसँग जोडिएको शीतभण्डार निर्माण कम्पनी परिवर्तन गरेर भए पनि काम सम्पन्न गर्छौं’, प्रवक्ता कार्कीले भने। पाल्पा कृषि क्षेत्रको उर्बर भूमि हो। यहाँका किसानले सुन्तला, अकबरे खुर्सानी, अदुवाजस्ता कृषि उपजबाट करोडौंको व्यापार गर्छन्।–रासस