धनकुटा– धनकुटाबाट वार्षिक ५० करोड बढीको गोलिया काठ (लकडी) तराईमा सञ्चालित विभिन्न उद्योगका लागि निर्यात हुने गरेको छ। सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि यहाँबाट उत्तिस, खोटे सल्ला, चिलाउनेलगायत काठ निकासी हुने गरेको हो। जिल्ला डिभिजन वन कार्यालयको तथ्यांकअनुसार वार्षिक २८ देखि ५७ करोडसम्मको काठ जिल्ला बाहिर निकासी हुने गरेको छ।
कार्यालयको तथ्यांकअनुसार गत वर्ष जिल्लाबाट २८ लाख ८३ हजार ९१८ क्युबिक फिट काठ निकासी भएको थियो। जसमा सरकारद्वारा व्यवस्थित वनबाट १५ हजार १८० र निजी तथा नम्बरी वनबाट २८ लाख ६८ हजार ७३८ क्युबिक फिट काठ निकासी भएको छ। यहाँबाट काठ निकासी गर्दा व्यवसायीले काठको जातअनुसार प्रतिक्युबिक फिट १ सयदेखि २ सयसम्मको दरले सरकारलाई कर तिर्ने गरेका छन्।
जिल्लाबाट गत वर्ष काठ निर्यातबाट ८ करोड ३१ हजार ७१० कर उठेको थियो। चालू आर्थिक वर्ष २०७/०८० को तीन महिनामा जिल्लाबाट निजी वनबाट मात्र १० लाख ८५ हजार २२४ क्युबिक फिट काठ निकासी भएको छ।
३ महिनामा २ करोड ९२ लाख ९३ हजार कर उठेको वन कार्यालयका सहायक वन अधिकृत उत्सव थापाले जानकारी दिए। एक डिभिजन र ६ वटा सव डिभिजन रहेको जिल्लाबाट सबैभन्दा बढी उत्तिस जातको काठ निर्यात हुने गरेको कार्यालयका प्रमुख मेघराज राईले बताए।–रासस