शनिबार, साउन ३२, २०८२

‘जंगलबाट ल्याएर पाल्दैमा हात्ती घरपालुवा हुँदैनन्’

जीवजन्तुको आनीबानीबारे जानकार लेखक दधि सापकोटा हात्ती घरपालुवा हुन्छन् भन्ने विषयलाई स्वीकार्दैनन्।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

पोखरा– निकुञ्ज आसपासका क्षेत्रमा प्रशस्तै घरपालुवा हात्ती भेटिन्छन्। ती हात्तीको रेखदेख र खानपिन उसको मालिकले नै गर्छन्। तर घरमा पाल्दैमा जंगली जनावार हात्ती घरपालुवा हुन्छ? 

जीवजन्तुको आनीबानीबारे जानकार लेखक दधि सापकोटा हात्ती घरपालुवा हुन्छन् भन्ने विषयलाई स्वीकार्दैनन्। 

पोखरामा जारी दसौं संस्करणको नेपाल लिटरेचर फेस्टिबलको ‘चराचुरुंगी र जनावरको आनीबानी’ सेसनमा बोल्दै सापकोटाले जंगलबाट ल्याइने जनावार घरपालुवा हुन नसक्ने दाबी गरे। ‘कुनै जनावार घरपालुवा हुन १३ देखि १७ पुस्ता चाहिन्छ। कुखुरा पाल्दा छोरा, नाति भएर १७औं पटकमा घरपालुवा हुन्छ। त्यसैले हात्ती पनि घरपालुवा हुँदैन,’ उनले भने, ‘नेपालमा चौथो पुस्ताका हात्ती छन्। जंगलबाट समातिएको चीज कहिल्यै घरपालुवा हुन्छ? मान्छे अन्ट्राटिकामा लगेर राखेर पेन्गुइन बनाउँछु भनेर सम्भव छ? छैन।’

सापकोटाका अनुसार घरमा पाले पनि हात्तीको आनीबानी जंगलकै हात्तीकै जस्तो हुन्छ। मान्छेले जंगली हात्तीलाई जबर्जस्ती घरपालुवा बनाएको उनको भनाइ छ। ‘जंगली हात्ती कुटेर, पिटेर ऊ घरपालुवा हुँदैन। उसले घरको बानी नै परिवर्तन हुनुप¥यो। नेपालमा भएको कुनै हात्तीलाई जंगलमा लगेर छाडिदिनुस्। अपवादको रुपमा कुनै एउटा हात्ती फर्केर आउला,’ उनले थपे, ‘९९.९ प्रतिशत हात्ती घर फर्केर आउँदैनन्। उनीहरू जंगलमै रमाउन चाहन्छन्। कुनै पनि हात्ती घरपालुवा भएका छैनन्। त्यो हुन पनि सम्भव छैन।’

हात्तीबाट कसरी जोगिने?

सापकोटाका अनुसार हात्तीबाट जोगिन उसको आनीबानी र खानपानबारे बुझ्नुपर्छ। उनी हात्तीबाट बच्न चार वटा सुझाव दिन्छन्। पहिलो, हात्ती आउने समयमा बाघ र सिंहको आवाज बजाउने किनकि यी दुई जनावारसँग हात्ती डराउँछ।  

दोस्रो, हात्ती हिँड्ने बाटोमा रक्सी नपार्ने। ‘रक्सीको गन्ध थाहा पाएपछि हात्तीले जसरी पनि त्यो घर फोर्छ। मान्छेजस्तै ऊ मैमत्त हुन्छ। त्यो पाएपछि डाँडापाखामा मज्जाले रमाउँछन्,’ उनले सुनाए।  

जीवजन्तुको आनीबानीबारे जानकार लेखक दधि सापकोटा हात्ती घरपालुवा हुन्छन् भन्ने विषयलाई स्वीकार्दैनन्। 

हात्ती हिँड्ने बाटो वरपर माहुरी पाल्दा त्यसबाट पनि जोखिम न्यूनीकरण गर्न सकिने सापकोटाले बताए। उनका अनुसार माहुरी उडेर हात्तीको संवेदनशील अंगमा टोक्छ, जसले गर्दा हात्ती डराउँछ।  

प्रायः बासस्थान सर्ने बेला हात्तीले बाली खाने सापकोटाले बताए। ‘हात्ती सधैं हिँड्दैन। बसाइँ सर्छन्। बसाइँ सर्छन् भन्ने बुझेर त्योबेला नपाक्ने बाली लगाउनुपर्छ। गर्भणी हात्तीले केराको पात खाँदैनन्। गर्भ तुहिन्छ। हात्तीले के–के खाँदैनन् भन्ने पत्ता लगाउनुपर्छ,’ उनले भने। 

बाघको पाइलाका किस्सा

जंगलमा बाघ बस्ने कुनै निश्चित ठाउँ हुन्छ। त्यो बासस्थान वरपर हिँड्डुल गर्दा प्रशस्तै पाइला भेटिन्छन्। मान्छेलाई त्यो पाइला मात्रै लागे पनि जीवजन्तुले भने तिनै पाइलाबाट उमेर र शक्ति पत्ता लगाउन सक्ने सापकोटा सुनाउँछन्। ‘उसले ४२ वा त्योभन्दा केही घटबढ वर्गमिटर कभर गरेर राख्छ। मेरो घर हो, कोही नआउनू भन्छ। उसले मेरो घर हो भन्दा केही विधि अपनाउँछ,’ उनले भने, ‘प्रतिद्वन्द्वीलाई यो पाइला यति गहिरो छ, आकार यस्तो छ, यो आकारले अर्को बाघलाई सूचना दिन्छ। अर्को बाघले त्यो पाइला हेरेर म लड्न सक्छु भन्यो भने भित्र पस्छ।’

पोथीलाई आकर्षण गर्न पनि बाघले आफ्नो बासस्थान वरपर पाइला छोड्ने सापकोटाले सुनाए । उनका अनुसार एउटा बाघको पाइलाबाट अरु बाघले उसको उमेर, शक्ति पहिचान गर्न सक्छन्। ‘हठ्ठाकठ्ठा, बलियो, अरुलाई पछार्न सक्ने, आहारा समात्न सक्ने भाले चाहिने भन्ने हुन्छ। जति स्वस्थ बलियो बाघसँग सहबास ग¥यो उसका बच्चा त्यति स्वस्थ हुन्छन्। कुन हैसियतको बाघ हो भनेर जानकारी दिन्छ,’ उनले सुनाए। 

बाघको पिसाबमा पनि अर्को रोचक पक्ष हुन्छ। भाले बाघको पिसाबमा हुने १३ देखि १७ प्रकारका रसायनले बघिनीलाई उमेर र शक्तिको जानकारी दिने सापकोटाले सुनाए। 

अमेरिकी र नेपाली भँगेरामा के फरक?

पछिल्ला वर्षमा नेपालमा भँगेराको संख्या घटेको सुनिन्छ। भँगेराबारे जानकार अनुज घिमिरे भँगेराबारे अध्ययन नै नहुँदा संख्या घटेजस्तो देखिएको बताउँछन्। तर उनी भँगेरा घटेको भन्ने विषयलाई इन्कार भने गर्दैनन्। सोही सेसनमा बोल्दै उनले प्रकृति संरक्षणमा सरकारको लगानी कम हुँदा संख्या घटेको बताए। 

‘भँगेराको विषयमा अरु प्रजातिमा जस्तो अध्ययन नै भएको छैन । कतिले भन्नुहुन्छ भँगेरा कम देखिरहेका छौं। तर यकिनकै साथ भन्नलाई तथ्यांक छैन,’ उनले भने, ‘आजभन्दा १५ वर्षअघि जति देखिन्थ्यो। त्यो अहिले छैन भनिन्छ। बेलायतसहित केही देशमा भँगेराको संख्या घटेको देखाउँछ।’

घिमिरेले अमेरिकाको नर्थ डाकोटा युर्निभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन्। उनलाई सेसनमा सहजकर्ता देवेन्द्र भट्टराईले सोधे– अमेरिकी र नेपाली भँगेरामा के फरक छ? आनीबानी र कराउने तरिकामा भने केही फरक नभएको घिमिरेले बताए। 

घिमिरेका अनुसार युरोपतिर भँगेरा भेटिनुको सम्बन्ध एसिया क्षेत्रसँग जोडिन्छ। ‘सन् १९६० तिर बेलायतबाट अमेरिका गएको देखिन्छ। अहिले यहाँ पाउने र त्यहाँ पाउनेमा फरक छैन,’ उनले भने, ‘लामो समय छुट्टिएकाले उप–प्रजाति अर्को हुन सक्ने अवस्था रहन्छ तर प्रजातिमा फरक हुँदैन। उहाँ कराउने र यहाँ कराउनेमा त्यस्तो फरक हुँदैन।’ नेपाल सरकारले खर्च नगर्दा चराचुरुंगी र जनावारमाथि अध्ययनमा आकर्षित हुने अवस्था नबनेको घिमिरेको भनाइ छ।

प्रकाशित: Dec 24, 2022| 11:55 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।