काठमाडौं- जुरी मेन्सन आइसिटी अवार्ड २०२२ दिक्षान्त पाण्डेलाई प्रदान गरिएको छ।
शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनालेमा पाण्डेलाई जुरी मेन्सन आइसिटी अवार्ड प्रदान गरिएको हो।
कोरोना महामारीमा पनि उनले विभिन्न नवप्रवर्तनमा काम गरेका थिए। सानै उमेरमा सूचना प्रविधि क्षेत्रमा उत्कृष्ट काम गर्दै आएका उनलाई सम्मान र प्रोत्साहन स्वरूप जुरी मेन्सन आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो।
काठमाडौंको भ्याली भ्यू स्कुलमा पढ्दै आएका १५ वर्षीय दिक्षान्त पाण्डे वेब डेभलपर हुन्। उनले बोलेरै नियन्त्रण गर्न सकिने गरी पाइथन भ्वाइस असिस्टेन्ट बनाएका छन्। जुन यसअघि आइसिटी अवार्डको राइजिङ स्टार विधा अन्तर्गत उत्कृष्ट १२ मा पर्न सफल भएको थियो।
यसबाट इमेल पठाउने, संगीत बजाउने, कम्प्युटर खोल्ने, बन्द गर्ने, मौसम जाँच गर्नेलगायतका काम गर्न सकिन्छ।