आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • वित्तीय साक्षरताले डिजिटल कारोबारलाई प्रोत्साहन : गभर्नर अधिकारी

वित्तीय साक्षरताले डिजिटल कारोबारलाई प्रोत्साहन : गभर्नर अधिकारी

डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्न वित्तीय साक्षरता कार्यक्रम सुरु गरिएको गभर्नर महाप्रसाद अधिकारीको धारणा।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

काठमाडौं– नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ। शुक्रबार सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा डिजिटल वित्तीय साक्षरता सुरु गरिएको केन्द्रीय बैंकले जनाएको छ।

कार्यक्रममा  गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्न कार्यक्रम सुरु गरिएको जानकारी दिए।

‘क्युआर कोडबाट मात्र मासिक ४२ लाख बढी कारोबार भएको पाइएको छ, जुन आफैंमा उत्साहजनक अवस्था हो। डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्न डिजिटल वित्तीय साक्षरता कार्यक्रमको सुरुआत गरेका हौं’, उनले भने।

डिजिटल कारोबारलाई पारदर्शिताको मेरुदण्ड’को संज्ञा दिँदै गभर्नर अधिकारीले डिजिटल कारोबारबाट भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवद्र्धनमा समेत टेवा पुग्ने धारणा राखे। सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई कार्यान्वयन गर्दै डिजिटल अर्थतन्त्रको विकासका निम्ति विद्युतीय भुक्तानी कारोबारलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा उनले जोड दिए। डिजिटल कारोबारमा आउन सक्ने जोखिमप्रति सचेत रहनसमेत उनले सबैलाई आग्रह गरे।

उक्त अवसरमा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले डिजिटल वित्तीय साक्षरता कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रकाश पारे। नेपालमा विद्युतीय भुक्तानी कारोबारको वर्तमान अवस्था र सूचकबारे उनले जानकारी दिए। 

गभर्नरको कार्यालयका निर्देशक अजित रेग्मीले कार्यपत्र प्रस्तुत गर्दै डिजिटल वित्तीय साक्षरताको सान्दर्भिकता, यसका आधारभूत पक्ष, नेपालमा उपलब्ध डिजिटल वित्तीय सेवा, यसको फाइदा, कारोबारमा अपनाउनुपर्ने सावधानीलगायत विविध पक्षबारे अवगत गराए।

विद्युतीय भुक्तानी कारोबारलाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यका साथ राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा यससम्बन्धी नीतिगत व्यवस्थालाई अवलम्बन गर्दै आएको छ। आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा चालू आर्थिक वर्षलाई ‘विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्ष’का रूपमा मनाउन आवश्यक संस्थागत समन्वय गरिनेसमेत उल्लेख गरिएको छ।

गभर्नर अधिकारीले आजै बैंक तथा वित्तीय संस्था, दार्चुला उद्योग वाणिज्य संघ र कृषि ज्ञानकेन्द्र, दार्चुलाका प्रतिनिधिसँग छुट्टाछुट्टै भेट गरी विविध विषयमा छलफल गरे। उनले सुदूरपश्चिम प्रदेशस्थित वाणिज्य बैंकका प्रदेश प्रमुख र दार्चुलास्थित बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखसँग यस क्षेत्रको वित्तीय कारोबारको अवस्थाबारे प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: Dec 23, 2022| 17:01 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्