शनिबार, साउन ३२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय प्रसारण लाइनमा दोर्दी कोरिडोरबाट ७२ मेगावाट बिजुली

राष्ट्रिय प्रसारण लाइनमा दोर्दी कोरिडोरबाट ७२ मेगावाट बिजुली

एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका चार आयोजनाबाट यतिबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

लमजुङ- जलविद्युत् आयोजनाको हब बन्दै गएको लमजुङस्थित दोर्दी कोरिडोरबाट ७२ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। 

एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका चार आयोजनाबाट यतिबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। 

दोर्दी करिडोर क्षेत्रका आयोजनाको बिजुली प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत् खेर जाने अवस्थामा रहेपनि गत भदौबाट प्रसारण लाइन सञ्चालनमा आएसँगै राष्ट्रिय लाइनमा धमाधम बिजुली जोडिन थालेको दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलले बताए।

उनका अनुसार दोर्दी खोलामा निर्माण सम्पन्न तीन आयोजना र चेपोखोलामा निर्माण सम्पन्न एक जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। 

हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ र दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.१ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजना र चेपोखोलामा निर्माण सम्पन्न ८.८३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् चालु आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएका छन्। 

तीमध्ये सबैभन्दा ठूलो २७ मेगावाट क्षमताको बिजुली बेँसीसहर नगरपालिका– ११ रामचोकबेँसीमा पावर हाउस रहेको यस आयोजनाले गत भदौ १५ गतेदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएर व्यावसायिक रूपमा बिजुली उत्पादन गर्दै आएको छ।

विसं २०७२ फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाको निर्माण सम्पन्न भएपछि केही महिनाअघि प्रसारण लाइनमा जोडिएको थियो। 

आयोजनामा गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी रहेको आयोजना प्रमुख मुन्ना शाक्यले बताए। 

नेपाल विद्युत् प्राधिकरण र कम्पनीबीच विसं २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो। आयोजना निर्माणमा चार अर्ब ८३ करोड लगानी भएको छ।

त्यस्तै, दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजनाले उत्पादन गरेको विद्युत् दुई साता अघि राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको थियो 

आयोजनाका प्रवर्द्धक राजेन्द्र वस्तीका अनुसार विद्युत् खेर जाने अवस्थाका कारण निर्माणमा पनि ढिलाइ भएको थियो। तर प्रसारण लाइन बनेपछि काम छिटो सकाइएको हो। 

आयोजनाको निर्माण विसं २०७१ बाट सुरु भएको थियो। विसं २०७४ मा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि चालु आवमा मात्रै सम्पन्न भएको थियो। आयोजना निर्माणमा चार अर्ब ६४ करोड ६१ लाख लगानी भएको छ। 

त्यस्तै, दोर्दी गाउँपालिका–६ ढोडेनीमा सम्पन्न १२ दशमलव १ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाले पनि विद्युत् उत्पादन सुरु गरेको छ। 

विसं २०७४ बाट थालनी गर्दै विसं २०७६ चैत महिनामा पूरा हुने लक्ष्य भए पनि समय थप भएको थियो। आयोजनामा सानिमा बैंकको अगुवाइमा पाँच बैंकले ऋण लगानी गरेको यस आयोजनामा दुई अर्ब भन्दाबढी लगानी भएको छ। 

त्यस्तै, चेपेखोला साना जलविद्युत् आयोजना एक अर्ब ५० करोडमा निर्माण सम्पन्न गरेको छ। यस दोर्दी करिडोरमै पिपुल्स हाइड्रो पावर कम्पनीद्वारा निर्माणाधीन ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजनाको निर्माण समेत अन्तिम चरणमा पुगेको छ।

यस आयोजनाको काम ९७ प्रतिशत सम्पन्न भएको आयोजनाका निर्देशक अर्जुनप्रसाद गौतमले बताए। केही महिनाभित्रै बिजुली उत्पादन गर्ने तयारी भइरहेको उनको भनाइ छ। 

विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पिपिए) गरी आयोजना निर्माण विसं २०७२ असोज महिनाबाट सुरु भएको थियो। विसं २०७५ मा निर्माण सम्पन्न गर्दै आयोजनाबाट बिजुली उत्पादन गर्ने भनिए पनि निर्माण अवधि लम्बिदै आएको छ। 

सुरुआतमा आठ अर्ब ८० करोड लगानी हुने भनिएको आयोजनामा लागत बढेर दश अर्ब ५० करोडसम्म खर्च हुने अनुमान गरिएको आयोजना प्रमुख गौतमले बताए। 

आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन्। कुल  ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवर्द्धन लगानीमा आयोजना निर्माण हुँदैछ। आयोजनामा प्रभावित स्थानीयवासीले २७ करोड लगानी गरेका छन्।

प्रकाशित: Dec 23, 2022| 22:00 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।