आइतबार, असार २२, २०८२

सुनकोसीमा ठडियो पक्की पुल

गाईघाट–दिक्तेल सडक खण्डको उदयपुरस्थित फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका लिच्की राम्चे बीचमा पर्ने सुनकोसी नदीको पक्की पुलमा नियमित यातायातका साधन चल्न थालेका हुन्।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

उदयपुर– उदयपुर सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङ दिक्तेल जोड्ने गाईघाट दिक्तेल सडक खण्डको सुनकोसी नदीमा निर्माण गरिएको पक्की पुलमा बिहीबारदेखि यातायातका साधन सञ्चालन भएका छन्। गाईघाट–दिक्तेल सडक खण्डको उदयपुरस्थित रौमाई गाउँपालिका–५ को फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्की राम्चे बीचमा पर्ने सुनकोसी नदीको पक्की पुलमा नियमित यातायातका साधन चल्न थालेका हुन्।

गाईघाटदेखि खोटाङ, दिक्तेल र दिक्तेलदेखि सीधैै गाईघाटसम्मका यातायातका साधन सञ्चालन हुन थालेको खोटाङ खोटेहाङ गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले बताए।अझै सुनकोसीको पुल निर्माण सम्पन्न गर्न केही काम बाँकी रहे पनि यातायात व्यवसायीको दबाब र जनताको मागअनुसार यातायातका साधन सुचारु गरिने अनुमति प्रदान गरेको उक्त पुल हेर्ने पुल सेक्टर १ धरानका प्रमुख प्रदीप भण्डारीले जानकारी दिए।

१० वर्षअघि नै सुनकोसीमा पक्की पुल निर्माण कार्य सुरु भएको थियो। माघसम्म पुल निर्माण सम्पन्न भइसक्नेछ। पार्वता गौरा जेभी कन्स्ट्रक्सन निर्माण कम्पनीले २०६९ चैतदेखि सुनकोसीमा पुल निर्माण सुरु गरेको हो। २०७५ सम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता थियो। निर्माण कम्पनीले काममा ढिलाइ गर्दा उदयपुर, खोटाङ, तराई, मधेस आवतजावतामा कठिनाइ भोग्नु परिरहेको थियो। 

पुल निर्माणका लागि १९ करोड ६० लाख खर्च भएको पुल निर्माण कम्पनीका कर्मचारी सुजन पाण्डेले बताए। १४२ मिटर लम्बाइ र ६. ५ मिटर चौडाइको पुल निर्माण गरिएको छ। पक्की पुल नहुँदा २०६९ देखि गाईघाट दिक्तेल सडक खण्डको सुनकोसीमा ६ महिना बेलीब्रिज जडान गरेर ६ महिनासम्म यातायातका साधन चल्ने गरेका थिए। जेठमा सुनकोसीमा पानीको बहाव बढेपछि ६ महिनासम्म वर्षायाममा बेलीब्रिज खोलिने गरिएको थियो।

गाईघाट दिक्तेल सडक खण्डमा ६ महिना हिउँदमा यातायात सुचारु हुने र वर्षामा ६ महिना यातायात सञ्चालन कार्य बन्द हुने गरेको थियो। यस पटक सुनकोसीमा पक्की पुल निर्माण भएपछि बेलीब्रिज पनि हटाइएको छ भने अब हिउँद, वर्षा दुवै याममा सदरमुकाम गाईघाटदेखि खोटाङको दिक्तेलसम्म र दिक्तेलदेखि गाईघाटसम्म सीधै यातायातका साधन चल्नेछन्।–रासस

प्रकाशित: Dec 23, 2022| 17:20 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्