काठमाडौं– सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेटेको नागढुंगा सुरुङ मार्ग तोकिएको समयभित्र पूरा नहुने देखिएको छ। आयोजनाले गत वर्षमा कोरोना महामारीका कारण निर्माणमा अवरोध पुगेको तथा जग्गा प्राप्ति समस्या समाधान नभएकाले तोकिएभन्दा ६ महिना बढी समय लाग्ने देखिएको बताएको हो।
निर्माणको काम निर्धारित तालिकाभन्दा केही ढिला हुन सक्ने आयोजनाका उपनिर्देशक माधवप्रसाद अधिकारीले जानकारी दिए। आयोजनाको आगामी वर्ष साउनमा अवधि सकिने भए पनि त्यतिबेलासम्म निर्माण पूरा हुन नसक्ने देखिएको उनको भनाइ छ। पछिल्ला दुई वर्ष कोभिड संक्रमणका कारण निर्माण नियमित रूपमा हुन सकेको थिएन।
हाल अवधि थपबारे परामर्शदाताले अध्ययन गरिरहेको र विगतमा काम हुन नपाएको अवधिसमेत गरेर ६ महिना बढी थप्नुपर्ने उनले बताए। उनले भने, ‘समयावधि थप्न ढिलाइ भएको कारण प्रमाणसहित हेर्नुपर्छ।’
उपनिर्देशक अधिकारीका अनुसार हाल कार्यरत कम्पनीको काम सन्तोषजनक छ। उनले हालसम्म सुरुङ मार्ग निर्माणको प्रगति ७० प्रतिशतभन्दा बढी पुगेको जानकारी दिए। ‘मुख्य काम सुरुङ भएकाले त्यसमा र अरू सहायक कामको पनि प्रगति राम्रो छ,’ उनले भने।
२ किलोमिटर ६८८ मिटर लम्बाइको सुरुङ मार्ग हालसम्म १ किमि ७११ मिटर निर्माण सकिएको आयोजनाले जानकारी दिएको छ। पूर्वतर्फबाट ८३२ मिटर र पश्चिमतर्फबाट ८७८ मिटर निर्माण सकिएको छ। सुरुङको निष्कासन (इभ्याक्युएसन टनेल) दुई किलोमिटर ५५७ मिटर निर्माण गर्नुपर्नेमा हालसम्म १ किमि ९४८ मिटर सकिएको छ।
१२६ मिटरको ‘वर्किङ अडिट’ को निर्माण सकिएको छ। साढे ५ किमि ‘क्रस प्यासेज’ निर्माण गर्नुपर्नेमा हाल ३ किमि ८६ मिटर सकिएको आयोजनाले जनाएको छ। आयोजनाअन्तर्गत सुरुङ निर्माणसँगै अन्य १२ वटा संरचना निर्माण गर्नुपर्नेमा हालसम्म ११ संरचना सम्पन्न भइसकेका छन्। तीन अन्डरपास, एउटा ओभरपास, तीन पुल र चार बक्स कल्भर्ट सम्पन्न भइसकेको आयोजनाले बताएको छ।
आयाजनाअन्तर्गत नै बलम्बुमा ‘फ्लाई ओभर निर्माणाधीन रहे पनि जग्गा प्राप्त नहुँदा निर्माणमा समस्या भइरहेको अधिकारी बताउँछन्। जग्गाको क्षतिपूर्ति दिने काम ९५ प्रतिशत सकिएको छ। दुई जगको काम भइसकेको र पाँचमध्ये दुई ‘सुपर स्ट्रक्चर’ काम भएको आयोजनाले जनाएको छ।
आयोजनामा गत महिनासम्ममा भौतिक प्रगति ४६.२६ प्रतिशत र पेस्कीसहित वित्तीय प्रगति ४८.८३ प्रतिशत छ। आयोजनामा जमिनमा हुने काममध्ये सडक मार्गका लागि माटो खन्ने काम ७७.८ प्रतिशत र बाँध निर्माणको काम ६२.४ प्रतिशत सकिएको छ।
नागढुंगा सुरुङ मार्ग निर्माणमा काठमाडौं र धादिङ गरी दुवै जिल्लामा जग्गा प्राप्तिको समस्या छ। काठमाडौंमा जग्गा र धादिङतर्फ निर्माण स्थलमा केही घरसमेत रहेको आयोजनाले जनाएको छ। नेपालमा ५०० मिटर बढी लम्बाइको यो नै पहिलो सुरुङ मार्ग हो।
नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पाेरेसनबीच २०७६ असोजमा सम्झौता भएको थियो। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नागढुंगा–नौबिसे सडक खण्डमा दैनिक रूपमा हुने जाम हट्नेछ।