काठमाडौं- अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको भन्दै महाशाखाले दैनिक जीवन, सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
भोलि शनिबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
पुस १० गते आइतबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। राति हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।