सोमबार, असार २३, २०८२

एउटै गाउँबाट बेचियो करोड बढीको सुन्तला

वालिङ नगरपालिका–४ सुन्तलाबारीबाट यस वर्ष मात्रै १ करोड बढीको सुन्तला बिक्री भएको हो।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

वालिङ– स्याङ्जाको एउटै गाउँबाट १ करोड बढीको सुन्तला बिक्री भएको छ। वालिङ नगरपालिका–४ सुन्तलाबारीबाट यस वर्ष मात्रै १ करोड बढीको सुन्तला बिक्री भएको हो। सुन्तलाबारी गाउँका २२ घरधुरीले सुन्तलाको ठेक्का तथा खुद्रा बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको सुन्तलाबारी सामुदायिक ‘होमस्टे’ अन्तर्गत सुन्तला बगैँचा व्यवस्थापन समिति अध्यक्ष खेमराज गुरुङले बताए।

‘अहिले ठूला बगैंचाको सुन्तला ठेक्कामार्फत १ करोडको बिक्री भइसकेको छ’, उनले भने, ‘अब साना बगैंचाका करिब ७ लाख बराबरका सुन्तला बिक्री हुन बाँकी छ।’ यहाँ उत्पादित सुन्तला पोखरा, बुटवल, मुग्लिनलगायतका ठाउँबाट ठेकेदार आई बोट वा बगैंचा नै खरिद गर्छन्। तौल गरी बेच्दा प्रतिकेजी ६० देखि ७० मात्रै पर्ने भएकाले किसानले बोट नै ठेक्का दिने गरेका छन्।

‘गत वर्ष कति मूल्य थियो र अहिले कस्तो फलेको छ भन्ने आधारमा  मूल्यांकन गर्छौं’, उनले भने, ‘अन्दाजी ४०/५० हजार फाइदा हुने गरी ठेक्का दिइने भएकाले बजार खोज्नुपर्दैन। ढुवानी तथा टिप्नका लागि कामदार पनि चाहिन्न।’ गाउँमा रहेका २२ घरले न्यूनतम १ लाख ५० हजारदेखि बढीमा १३ लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी गरेको उनको भनाइ छ। सुन्तला बिक्रीबाट ५ लाखभन्दा बढी आम्दानी गर्ने घरधुरीको संख्या धेरै छ। 

गत वर्ष यस गाउँबाट ८७ लाख ७४ हजार बराबरको सुन्तला बिक्री भएको थियो। यस वर्ष सुन्तला गत वर्षको तुलनामा धेरै र बाक्लो फलेकाले आम्दानी पनि बढेको उनले बताए। गत वर्ष ११ हजार सुन्तलाका बोट रहे पनि यस वर्ष ३ हजार ३०० सुन्तलाका नयाँ बोट थपिएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनले यस गाउँलाई पनि समेटेपछि बगैँचा विस्तार गरिएको हो।

‘यहाँ उत्पादन भएको सुन्तला सबै बिक्री हुँदैनन्’, उनले भने, ‘गाउँमा होमस्टे सञ्चालनमा रहेकाले यहाँ आउने पाहुना तथा आफन्तलाई कोसेलीस्वरुप सुन्तला दिने गरिएको छ।’ यो गाउँको नाम पनि सुन्तालासँगै जाडिएको छ। अन्य समयको तुलनामा यस समयमा होमस्टेमा आउने पाहुनाको संख्या बढी हुने गरेको छ।–रासस

प्रकाशित: Dec 22, 2022| 17:55 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्