आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • जुम्लामा डेढ सय मेगावाट क्षमताको आयोजना निर्माण गर्दै प्राधिकरण

जुम्लामा डेढ सय मेगावाट क्षमताको आयोजना निर्माण गर्दै प्राधिकरण

प्राधिकरणले कर्णाली प्रदेशको विद्युतीय पूर्वाधार निर्माणका लागि २५ अर्ब बराबरको लगानी गर्ने तयारी गरेको हो।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले जुम्लामा १५० मेगावाट क्षमताको जवातिला जलविद्युत् आयोजना निर्माण तयारी थालेको छ। कोहलपुरबाट लामो दूरी तय गरेर जुम्ला पुगेको ११ केभी क्षमताको प्रसारण लाइनले प्रवाह गर्ने बिजुलीको गुणस्तर राम्रो नभएपछि प्राधिकरण आफैंले आयोजना निर्माण थालेको हो।

जिल्लामा भएका साना लघु जलविद्युत आयोजना वर्षमा पटक(पटक बिग्रन्छन्। स्थानीयले बिजुलीको राम्रो सुविधा पाउन सकेका छैनन्।प्राधिकरणले कर्णाली प्रदेशको विद्युतीय पूर्वाधार निर्माणका लागि २५ अर्ब बराबरको लगानी गर्ने तयारी गरेको हो। 

जुम्लामा बिजुलीको समस्यालाई पूर्ण रुपमा समाधान गर्ने र बिक्री गरी आम्दानी समेत गर्ने लक्ष्यका साथ संविधानसभा सदस्य एवं कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले आयोजनालाई अघि बढाउन सरकारसँग अनुरोध गरेको बताए।

उनको अनुरोधलाई स्वीकार गर्दै प्राधिकरणको गत २१ मंसिरको सञ्चालक समिति बैठकले आयोजना निर्माण गर्ने निर्णय गरेको थियो। पूर्वमन्त्री भण्डारीका अनुसार आयोजना तीन वटा ढाँचामा निर्माण गर्ने गरी तयारी गरिएको छ। तल्लो क्षमतामा ७० मेगावाट, मझौला हिसाबले निर्माण गर्दा १०० मेगावाट र पूर्ण क्षमतामा जाँदा १५० मेगावाट बराबर रहनेछ।

प्रारम्भिक अनुमानमा आयोजनाको कुल लागत ३५ अर्ब बराबर रहनेछ। क्षमता तलमाथि हुँदा लागतमा पनि तलमाथि नै हुन सक्ने उनको भनाइ छ। जुम्लाको तिला गाउँपालिकामा आयोजना स्थल रहेको आयोजना कर्णालीको सहायक नदी तिला कर्णालीमा निर्माण हुनेछ।

प्राधिकरणको सञ्चालक समितिले निर्णय गरी अनुमतिपत्र लगायतको प्रक्रियामा अगाडि बढिसकेको छ। ‘आयोजनाको कार्यान्वयन भएपछि तिला र जवा नदीमा बगिरहेको पानीबाट हुने आम्दानी जुम्लाका जनताको जीवनमा प्रतिविम्बित हुनेछ’, पूर्वमन्त्री भण्डारीले भने, ‘जुम्लाका जनताको जीवनमा आयोजनाले उज्यालोको अनुभूति मात्रै गराउने छैन, मुलुकका लागि बिजुली निर्यातमा समेत सहयोग पुग्नेछ।’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयोजना प्रारम्भिक अध्ययनका आधारमा उपयुक्त देखिएकाले प्राधिकरणले निर्माण गर्ने गरी निर्णय भएको बताइन्। मन्त्री भुसाल प्राधिकरण सञ्चालक समिति अध्यक्ष हुन्। परियोजनाको पहलकर्तासमेत रहेका पूर्वमन्त्री भण्डारीले आयोजना निर्माणपछि जुम्लाको समग्र आर्थिक अवस्थामा सुधार हुने र खेर गइरहेको प्राकृतिक स्रोतको सदुपयोग हुने बताए। 

अध्ययन अनुसार कर्णाली प्रदेशमा हालसम्म १८ हजार मेगावाट क्षमताका आयोजना पहिचान भएका छन्। त्यसमध्ये ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको चर्चा सुरु भएको लामो समय भए पनि हालसम्म प्रक्रिया अगाडि बढेको छैन।

लगानी बोर्डले भारतीय प्रवर्द्धक कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) लाई वित्तीय व्यवस्थापन गर्न सर्तसहित समय थप गरे पनि पछिल्ला दिनमा देखिने गरी प्रगति हुन सकेको छैन। यस्तै, मुगुमा रहेको १ हजार ९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनाको एनइए इञ्जिनियरिङ कम्पनीले विस्तृत इञ्जिनियरिङ अध्ययन गरिरहेको छ।

त्यस्तै, ४२६ मेगावाट क्षमताको फुर्कोट कर्णाली जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया पूरा भएको छ। अर्धजलाशययुक्त प्रकृतिको सो आयोजना निर्माणमा जाने तयारीमा छ।

जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना तथा त्यसको सञ्चालनलगायतका महत्त्वपूर्ण भूमिका खेलेका पूर्वमन्त्री भण्डारीले भने, ‘जुम्लाले यतिबेला चिकित्सक उत्पादन गरेर दिएजस्तै जवा तिला आयोजनाको निर्माणपछि बिजुली पनि दिन्छ। हामी सोहीअनुसार आवश्यक प्रक्रियामा लागेका छौं। आशा गरौं, छिट्टै हामी निर्माणमा जानेछौं।’

प्रकाशित: Dec 22, 2022| 17:20 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्