काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तीन जिल्लाबाट १७ हजार २७९ क्विन्टल धान खरिद गरेको छ। पहिलो चरणमा २० हजार ८०० क्विन्टल धान खरिद गर्ने योजना रहेको खाद्य कम्पनीले बर्दियाको राजपुरबाट मोटा धान ८ हजार ६९४ क्विन्टल र मकवानपुरबाट १ हजार २१९ क्विन्टल खरिद गरेको हो।
यस्तै, धनगढीबाट मोटा धान ७ हजार क्विन्टल र महेन्द्रनगरबाट ३६५ क्विन्टल धान खरिद गरेको कम्पनीले जनाएको छ। अन्य जिल्लामा पनि खरिद प्रक्रिया अगाडि बढाएको कम्पनीले बताएको छ।
चाँडै धान खरिद गर्दा चिसो धान भएर गुणस्तर बिग्रिने भएकाले पनि ढिलो खरिद गरिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए। सुकेको धान खरिद गर्दा चामलको गुणस्तर राम्रो हुने भएकाले पनि खरिद गर्न ढिलाइ भएको उनको भनाइ छ। धान थन्क्याउनेबित्तिकै खरिद गर्दा चिसो हुने हुँदा चामलको गुणस्तर बिग्रने भएकाले सुकाएको धान खरिद गर्दा गुणस्तर राम्रो हुने उनको धारणा छ।
सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार धान खरिद गरिएको कम्पनीले जनाएको छ। न्यूनतम समर्थन मूल्यमा यो वर्ष कम्पनीले ३ लाख २ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको छ। कम्पनीले धान खरिद गर्न ९८ करोड बजेट विनियोजन गरेको छ। सरकारले निर्धारण गरेको मूल्यभन्दा बजार मूल्य सस्तो रहने हुँदा फरक मूल्य बराबरको २७ करोड भने हालसम्म निकासा भएको छैन।
गत वर्षको धान खरिद गरेबापतको फरक रकम ३४ करोड रुपैयाँ लिन बाँकी रहेको कम्पनीले जनाएको छ। सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत धान खरिद गरेको फरक रकम उपलब्ध गराउने घोषणा गरेको थियो।
सरकारले चालू आर्थिक वर्षका लागि मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ९६७ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १२८ तोकेको छ ।सरकारले गत वर्षको तुलनामा प्रतिक्विन्टल २२६ रुपैयाँ बढी मूल्य तोकेको हो। गत वर्ष ३ लाख क्विन्टल धान खरिद गरेको कम्पनीले यो वर्ष भैरहवा, नेपालगञ्ज, धनगढी बिर्तामोड, विराटनगर, लहान, जनकपुर, राजापुर र महेन्द्रनगरबाट धान खरिद प्रक्रिया अगाडि बढाएको छ।