काठमाडौं– स्वदेशी वस्तु निर्यात गर्ने उद्योगी व्यवसायीले अबदेखि दुई सातामै नगद अनुदान पाउने भएका छन्। राष्ट्र बैंकले निर्यातमा अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०७९ दोस्रो संशोधन गरी १५ दिनभित्रै अनुदान पाउने व्यवस्था गरेको हो।
सरकारले चालू आव २०७९÷८० को बजेटमा स्वदेशी वस्तु निर्यातमा ५ देखि ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार राष्ट्र बैंकले कार्यविधि संशोधन गरेर दुई सातामै नगद अनुदान खातामा जम्मा गर्ने व्यवस्था गरेको हो।
यसअघि नगद अनुसन्धानसम्बन्धी कार्यविधि संशोधन नहुँदा अनुदान प्राप्त गर्न कठिनाइ भएको गुनासो व्यवसायीले गर्दै आएका थिए। निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९ मा कागजात पेस गरेको १५ कार्यदिनभित्र भुक्तानी गरिसक्नुपर्ने उल्लेख छ।
निर्यातसम्बन्धी कागजातलाई उद्योग विभागमार्फत प्रमाणित कागजात बुझाउनुपर्नेछ। निर्यात गर्ने उद्योगी व्यवसायीको खातामा सरकारले १५ दिनभित्रै नगद अनुदान जम्मा गरिदिनेछ। कार्यविधिमा स्वदेशी विभिन्न ३६ प्रकारका वस्तु निर्यातमा अनुदान दिने व्यवस्था छ। यससमध्ये १८ प्रकारका वस्तुमा मूल्य अभिवृद्धि ५० प्रतिशत र बाँकी १८ प्रकारका वस्तुमा ३० प्रतिशत हुनुपर्ने व्यवस्था छ।