भरतपुर– चितवनमा पछिल्ला केही वर्षयता तोरी उत्पादन हुने क्षेत्र बढेसँगै उत्पादनमा पनि वृद्धि हुने भएको छ। तोरी उत्पादन हुने जिल्लाका रुपमा चिनिने चितवनमा उत्पादन बढ्न थालेको हो।
कृषि ज्ञान केन्द्र चितवनले विगतका तुलनामा यस वर्ष तोरी उत्पादन हुने क्षेत्र बढेकाले उत्पादन पनि वृद्धि हुने बताएको छ। विगतमा तोरीमा लाग्ने रोग र जमिन खण्डीकरण बढेपछि तोरी उत्पादन घटेको थियो।
कुनै समय १८ हजार हेक्टर क्षेत्रफलमा तोरी खेती हुने जिल्लामा केही वर्ष अघिसम्म चार हजार हेक्टरमा सीमित भएको थियो। तर हाल १४ हजार हेक्टरमा तोरीखेती भइरहेको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुनले जानकारी दिए।
चालू आर्थिक वर्षमा १५ देखि २० प्रतिशत तोरीको उत्पादन बढ्ने अनुमान गरिएको पुनको भनाइ छ। अहिले किसानले तरकारी खेती छाडेर तोरी लगाउन थालेको उनको भनाइ छ। पछिल्लो वर्षमा तोरीको तेलको माग बढ्दै गएको र तुलनात्मक रूपमा तोरी खेती कम खर्चिलो र आम्दानी राम्रो हुने भएकाले किसानको आकर्षण बढेको हो।
‘मौसम अनुकूल भए यस वर्ष तोरीको उत्पादन झनै राम्रो हुन्छ’, पुनले भने, ‘हुस्सु कुहिरो नलागेर घाम लाग्यो भने तोरीको उत्पादन बढ्नेछ।’ बाँझो रहेका जमिनमा किसानले यस वर्ष तोरी खेती सुरु गरेको उनले बताए। पूर्वी चितवन, पश्चिम चितवन र माडी क्षेत्रमा तोरी व्यापक रुपमा लगाइएको छ। आर्थिक वर्ष २०६४/६५ यता जिल्लामा तोरी लगाउने किसान बढ्न थालेको कार्यालयले जनाएको छ।
चितवनमा करिब २० हजारदेखि २५ हजार किसान भए पनि व्यावसायिक रुपमा खेती गर्ने किसानको संख्या भने ज्यादै न्यून छ। खैरहनी नगरपालिका–१३ का वडाध्यक्ष कुलप्रसाद भुसालले प्रत्येक वर्ष तोरी लगाउँदा राम्रो उत्पादन नहुने अनुभव रहेको सुनाउनुभयो । ‘माटोमा बाली लगाउँदा ग्याप चाहिन्छ’, उनले भने, ‘तोरी एक÷दुई वर्ष लगाएपछि अर्को एक/दुई वर्ष कोसेबाली लगाउन सकियो भने उत्पादन बढ्छ।’
उनले एक दुई वर्षको अन्तरालमा तोरी लगाउँदा माटोमा तोरीका लागि चाहिने तत्त्व तयार हुने र उत्पादन राम्रो हुने बताए। ‘तोरीको बोट राम्रो भएर मात्र हुँदैन घाम पनि लाग्नुपर्छ। तीन–चार दिन बादल लाग्यो भने तोरीको बोट राम्रो भए पनि कोसा दाना लाग्दैन’, उनले भने।
उनले आफ्नो वडामा तोरी खेती गर्नेको संख्या पछिल्ला वर्षमा धेरै बढेको बताए। ‘म युवा छँदा चितवनमा तोरीको उत्पादन राम्रो थियो। बीचका केही वर्षमा घट्यो’, उनले भने, ‘बालीमा विविधीकरण आएपछि फेरि तोरीको उत्पादन बढ्दै गएको छ।’
खैरहनी नगरपालिका–६ का कुमरोजका किसान तेजप्रसाद बड्तौला चितवनमा तोरीको उत्पादन राम्रो हुने भएकाले आफूले तोरी खेतीलाई निरन्तरता दिँदै आएको बताउँछन्। ‘मैले हरेक वर्ष तोरी खेती गर्दै आएको छु’, उनले भने, ‘यस वर्ष मौसम अनुकूल भएकाले उत्पादन बढ्ने अनुमान गरिएको छ।’ चितवनमा कात्तिकमा तोरीखेती लगाएर फागुनमा थन्क्याइने गरिन्छ। राप्ती नगरपालिका–४ का किसान रामचन्द्र पौडेलले पानी नपरे यस वर्ष तोरीको उत्पादन राम्रो हुने बताए।–रासस