सोमबार, असार २३, २०८२

प्राधिकरणले भारतलाई बेच्यो सवा ११ अर्ब बढीको बिजुली

देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख आर्जन गरेको हो।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले यस वर्षको ३ पुससम्म ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ। देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख आर्जन गरेको छ।

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत १९ जेठ २०७९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो। भारतसँगको विद्युत् व्यापार भारुमा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ। 

सुरुमा दुई जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री सुरु गरिएको थियो। त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री गरिएको थियो।

देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख आर्जन गरेको हो।

प्राधिकरणले गत १८ र  ३० कात्तिकबाट थप दुई जलविद्युत केन्द्रबाट उत्पादित विद्युत निर्यात गर्न स्वीकृति पाएको थियो। योसँगै आठ जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता ४०८ मेगावाट रहेको छ। 

प्राधिकरणले गत आर्थिक वर्ष २०७८÷७९ को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत निर्यात गरी २ अर्ब ८३ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ। चालू आव २०७९÷८० को ३ पुससम्म १ अर्ब ५ करोड ८६ लाख ३४ हजार युनिट विद्युत निर्यात गरी ८ अर्ब ३२ करोड ४२ लाख ४० हजार रुपैयाँ आर्जन गरिएको छ।  

चिसो बढ्दा काठमाडौं उपत्यकालगायतमा  विद्युत् माग बढेको तर खोलानालामा पानीको बहाव घट्दा  नदी प्रवाहमा आधारित जलविद्युत केन्द्रबाट उत्पादन कम भएसँगै विद्युत निर्यात बन्द भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। 

कार्यकारी निर्देशक घिसिङले देशभित्रको उत्पादन घट्दा हिउँदयामका करिब चार महिनाको विद्युत् माग धान्न भारतबाट विद्युत आयात गर्नुपर्ने वाध्यात्मक अवस्था रहेको उल्लेख गरे। घिसिङले वैशाख अन्तिम/जेठको पहिलो साताबाट फेरि विद्युत निर्यात सुरु हुने बताए। 

‘देशभित्रको उत्पादन घट्दा आन्तरिक माग धान्न दैनिक रुपमा विद्युत आयात सुरु भएको छ। विद्युत आयात करिब ४ महिनासम्म रहने हाम्रो प्रक्षेपण छ तर विद्युत आयात परिमाण निर्यातभन्दा कम हुनेछ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘विगतका वर्षमा विद्युत निर्यात परिमाण आयातभन्दा कम हुने गरेकामा यस वर्षबाट निर्यात बढी र आयात कम हुनेछ। विद्युत निर्यात र त्यसबाट प्राप्त हुने रकम दुवैमा हामी खुद निर्यातकर्ता बन्नेछौं।’ 

प्राधिकरणले आइएक्सको प्रतिस्पर्धी बजारमा विद्युत् बिक्री र खरिद गर्दै आएको छ। ‘आइएक्सबाट मात्र खरिद गर्ने या उत्पादकसँग छोटो अवधिको विद्युत खरिद सम्झौता गरी आयात गर्ने भन्नेबारेमा छलफल भइरहेको छ’, उनले भने, ‘यसका लागि बजार अध्ययन गरिरहेका छौं।’

आइएक्समा विद्युत् खरिदबिक्रीका लागि २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ। प्राधिकरणले ३ पुससम्म निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ २२ पैसा रहेको छ।

प्रकाशित: Dec 20, 2022| 12:56 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्