पोखरा- प्रतिनिधिसभा सदस्यको शपथ सात गते गराउने तयारी छ। संविधान अनुसार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेश सभाको पहिलो बैठक आह्वान गर्नुपर्ने प्रावधान छ। निर्वाचन आयोगले मंसिर २८ गते अन्तिम नतिजा सार्वजनिक गरेको छ। पुस १८ भित्रै पहिलो संसद बैठक बस्नुपर्छ। त्यसअघि नै सपथ गराउनुपर्ने व्यवस्था छ।
तर गण्डकीमा सांसदको सपथ ग्रहणबारे कुनै प्रक्रिया नै सुरु भएको छैन। संघीय संसदको सपथ पछि मात्रै प्रदेशमा तयारी हुने बताइएको छ। प्रदेश प्रमुखको कार्यालयका कर्मचारीका अनुसार प्रदेश प्रमुख केन्द्रसँग निरन्तर छलफलमा छन्। ‘उहाँले छलफल गरिरहनु भएको छ। माथीको सपथ सकिएपछि प्रदेशमा गर्ने कुरा छ,’ एक कर्मचारीले भने, ‘माथीबाट सबै प्रदेशमा एकै पटक सपथ गराउने कुरा सुनिएको छ। सम्भवतः ११ गतेतिर हुन सक्छ।’
प्रदेशको आफ्नै संरचना भए पनि सपथ समेत केन्द्रको आग्रह अनुसार गराउनुपर्ने अवस्था छ। त्यसपछि सरकार गठन पनि केन्द्रिय नेतृत्वको हातमा निहित छ। ६० सांसदमध्ये प्रदेश प्रमुखले जेष्ठ सांसदलाई सपथ गराउने र उनले अरु सांसदलाई सपथ गराउने व्यवस्था छ। गण्डकीमा निर्वाचित ३६ र समानुपातिक २४ सांसद मध्ये पर्वत (ख) बाट निर्वाचित भएका मित्रलाल बस्याल सबैभन्दा जेष्ठ सांसद हुन्। उनी ६५ वर्षका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सबैभन्दा पहिले बस्याललाई सपथ गराउने छन्। त्यसपछि बस्यालले ५९ सांसदलाई सपथ खुवाउछन्।
शनिबार गण्डकीमा निर्वाचित सबै सांसदको सूची सहित निर्वाचनको अन्तिम प्रतिवेदन निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझाएको छ। आयुक्त इश्वरी प्रसाद पौडेलले प्रतिवेदन बुझाएका हुन्। पहिलो बैठक बसेपछि सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुन्छ भने सरकार गठनको बाटो पनि खुल्छ।