काठमाडौं- 'नेक्सन इभी रेन्ज टेस्ट २०२२' प्रदर्शनात्मक कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतिय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको आयोजनामा कार्यक्रम भएको थियो।
कार्यक्रममा नेक्सन इभी हुने ग्राहकको उत्साहजनक सहभागिता रहेको थियो। काठमाडौं निवासी सलिम श्रेष्ठ नेक्सन इभीको काठमाडौं सडकमै ३४७ किमी सम्मको रेन्ज निकालेर प्रथम भएका छन्।
यस्तै ३३२ किमि रेन्ज निकालेर भरत पुडासैनी र अनिशकावरा दोश्रो भएका छन्। त्यसैगरी ३२१ किमि रेन्ज निकाल्न सफल तृप्ति सिंह तथा उदिप न्यौपाने तेस्रो स्थानमा रहेका छन्। कार्यक्रममा सहभागी मध्ये १४ जना ले ३०० किमि रेन्ज भन्दा बढी निकाल्न सकेका थिए। यसै कार्यक्रममार्फत उत्कृष्ट तरिकाले इभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतीय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको थियो।
प्रथम स्थान प्राप्त गर्न सफल सलिम श्रेष्ठले सम्मान पदक र प्रमाण पत्रका साथ ४३ ईञ्चको स्मार्ट एलइडी टिभी जितेका छन्।त्यसैगरी दोश्रो स्थानमा रहेका भरत पुडासैनी र अनिश कावराले २८ लिटरको सामसंग ओभेन प्राप्त गरेका छन्। तेश्रो स्थानमा रहने तृप्ति सिंह तथा उदिप न्यौपानेले सामसंग भ्याकुम क्लिनर पाएका छन्।
विद्युतीय गाडीको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावबारे जनचेतना फैलाउने र विद्युतीय गाडीप्रति ग्राहकको दुविधालाई हटाइ यसबाट मिल्ने सुविधाबारे विश्वस्त बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले जानकारी दिए।
कार्यक्रम शनिबार सिप्रदी ट्रेडिङ नैकापबाट सुरू भएर कलंकी, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, पुतलीसडक, जमल, दर्बारमार्ग, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, सुकेधारा, चाबहिल हुँदै हायात रेजेन्सी होटलमा पुगेर समापन गरिएको थियो। उक्त कार्यक्रममा ३४ भन्दा बढी नेक्सन इभीको सहभागिता थियो।