काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ सम्पन्न भएको अवसरमा आयोजना गरेको जलपान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी छन्।
सोमबार कान्तिपथस्थित आयोग परिसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए।
पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, विभिन्न राजनीतिक दलका प्रमुख, पूर्वउपराष्ट्रपति, मन्त्री, नवनिर्वाचित सांसद, सवैधानिक निकायका प्रमुख, विभिन्न विश्वविद्यालयका उपकुलपति र विभिन्न प्रतिष्ठानका कुलपति, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उद्योगी, व्यापारी, कलाकार, पत्रकार तथा समाजका विभिन्न क्षेत्र तथा तह र तप्काका लब्धप्रतिष्ठित व्यक्तित्व उपस्थित थिए।
उक्त अवसरमा प्रमुख निर्वाचन आयु्क्त दिनेशकुमार थपलिया र अन्य आयुक्तले स्वागत तथा अभिवादन गरेका थिए । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनको मूल नारासहित आयोगले ती दुवै तहको निर्वाचन सम्पन्न गरी गत ९ मंसिरमा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाएको थियो।
उक्त निर्वाचनबाट करिब ३३ प्रतिशत महिलासहित प्रतिनिधिसभातर्फ २७५ तथा प्रदेशसभा सदस्यतर्फ ५५० नयाँ जनप्रतिनिधि चयन भएका छन्।