काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ। गत साताको मंगलबारदेखि ओरालो लागेको नेप्से आइतबार २७.५४ अंकले घटेर १८५५.०६ बिन्दुमा झरेको छ।
नेप्से सेन्सेटिभ इण्डेक्स ५.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६५ अंकले घटेको छ। कारोबारमा आएका २५० कम्पनीको ३७ लाख ७८ हजार कित्ता सेयर १ अर्ब १५ करोड ७१ लाख ५५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट हुँदै आएको छ।
आइतबार इष्टर्न हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ को इकाई मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने धौलागिरी लघुवित्तको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसमध्ये वित्त उपसमूहको परिसूचक २.८८ प्रतिशले घटेको छ भने विकास बैंक, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। बैंकिङ र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।