काठमाडौं– बैंकिङ प्रणालीमा तरलता बढ्न थालेको छ। निक्षेपमा आएको वृद्धिसँगै तरलताको अभावमा छटपटिएको बैंकिङ क्षेत्रलाई राहत मिल्न थालेको हो।
नेपाल बैंकर्स संघले प्रकाशित गरेको मंसिर महिनाको विवरणअनुसार मंसिर महिनामा मात्र वाणिज्य बैंकहरुमा ५८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।
मंसिरको पहिलो हप्ता ५ अर्ब ४७ करोड रुपैयाँले बाहिरिएको निक्षेप मंसिर अन्तिम सातामा २२ अर्ब ३१ करोड रुपैयाँ थपिएको छ। त्यस्तै, मंसिर महिनाको दोस्रो साता ३ अर्ब ७० करोड, दोस्रो साता ११ अर्ब ५४ करोड र चौथो साता २५ अर्ब १३ करोड रुपैयाँ वाणिज्य बैंकहरुमा थपिएको छ।
कर्जातर्फ भने मंसिर महिनामा वाणिज्य बैंकहरुबाट २ अर्ब रुपैयाँमात्र कर्जा प्रवाह भएको देखिन्छ। बैंकर्स संघका अनुसार मंसिर महिनाको पहिलो साता २ अर्ब २० करोड रुपैयाँले घटेको कर्जा प्रवाह दोस्रो साता २ अर्ब १९ करोड, तेस्रो साता १ अर्ब १ करोड, तेस्रो साता १ अर्ब ४ करोड र अन्तिम साता १ करोड रुपैयाँले प्रवाह भएको देखिन्छ।
बैंकर्स संघका अनुसार मंसिर महिनामा निक्षेपमा वृद्धि भए पनि पुसमा भने करिब २ खर्ब २५ अर्ब रुपैयाँ तरलता बाहिरिने हुँदा पुनः तरलताको अभाव बैंकिङ क्षेत्रले भोग्ने निश्चित छ।