काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–६, पुसलकी ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ। तारकेश्वर–६ का ३९ वर्षीय नरेन्द्र शिवभक्ति पक्राउ परेका हुन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। गत मङ्सिर २० गते वृद्ध महिला हराएपछि परिवारका सदस्यले प्रहरी वृत्त बालाजुमा निवेदन दिएपछि खोजी भइरहेको थियो। एक छोरा र चार छोरीकी आमा एक्लै बस्दै आएकी थिइन्।
महिलाको शव प्रहरीले मङ्सिर २२ गते तारकेश्वर नगरपालिका–३, पारिवन पाखा सामुदायिक वनको खोल्सामा फेला पारेको थियो। घरबाट अन्दाजी पाँच सय मिटर टाढा रहेको जङ्गलमा फेला परेको शवको टाउको, मुखमा चोट देखिएपछि प्रहरीले हत्याको आशङ्कामा अनुसन्धान अघि बढाएको थियो।
महाराजगञ्जस्थित टिचिङ अस्पतालमा गरिएको शवको पोस्टमार्टमबाट टाउकोमा प्रहार गरी हत्या भएको खुलेको थियो। घटनास्थलमा घिसारिएको ठाउँसमेत फेला परेपछि प्रहरीले हत्या भएको भन्दै अनुसन्धान गरेको थियो।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्ण कोइरालाका अनुसार महिलाको हत्या गरेपछि नरेन्द्र शिवभक्ति, उनकी श्रीमती र छोरासहित ससुराली घर स्याङ्जा पुगेका थिए। काठमाडौं फर्केलगत्तै प्रहरीले शिवभक्तलाई बिहीबार पक्राउ गरेको थियो।
प्रवक्ता कोइरालाले आरोपीले हत्या गरेको स्वीकारी बयानसमेत दिएको जानकारी दिएयो। प्रहरीसँगको बयानमा शिवभक्तले मृतक वृद्धाले चिसापानी चप्पल कारखानामा राहत लिन जान आफूसँग सहयोग मागेको र बाटोमा जाँदै गर्दा लुटपाट गर्ने उद्देश्यले हत्या गरेको स्वीकार गरेका छन् ।
मृतक वृद्धा आँखासमेत देख्न नसक्ने र साथमा एक लाख रुपियाँभन्दा बढी बोकेर हिँडने गरेको जानकारी पाएपछि उनले हत्या गर्ने योजना बनाएको बयानका क्रममा बताएका छन्।
वृद्धा महिलालाई जङ्गलमा पुगेपछि शिवभक्तले ढुङ्गाले टाउको र घाँटीमा प्रहार गरी हत्या गरेका थिए। हत्यापछि शवलाई खोलामा फ्याँकेर वृद्धाको पटुकीमा भएको अन्दाजी ४५–५० हजार रुपियाँ लिएर शिवभक्त घर आई परिवारसहित ससुराली पुगेका थिए। मृतकका परिवारले हत्यापछि एक डेढ लाख रुपियाँ लुटेको दाबी गरेको प्रहरीले जनाएको छ।