सोमबार, असार २३, २०८२

बागलुङको २० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ

बागलुङमा ४६ हजार १४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार ५२३ हेक्टरमा मात्रै खेती हुँदै आएको छ। त्यसमध्ये ६ हजार १४८ हेक्टरमा मात्रै सिँचाइको सहज पहुँच छ।
 |  शनिबार, पुस २, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

ढोरपाटन– बागलुङ अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन। जिल्लामा खेतीयोग्य जमिन नभएर होइन। बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भू–भाग भिरालो छ। यी क्षेत्रमा अहिलेसम्म सिँचाइ सुविधा पुग्न नसक्दा कृषक परनिर्भर बन्नुुपरेको हो।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङबाट चालू आर्थिक वर्षमा जिल्लाभर १३७ वटा योजना परेका छन्। यी सबै प्रदेश तथा संघीय सरकारबाट अनुदान प्राप्त योजना हुन्। जिल्लाको १० वटै पालिकामा योजना परेका छन्। सबैभन्दा बढी योजना गलकोट नगरपालिकामा र सबैभन्दा कम तमानखोला गाउँपालिकामा परेका छन्। जिल्लामा सहजरुपमा सिँचाइको व्यवस्थापन गर्न सरकारले हरेक वर्ष करोडौंका योजना पार्दै आएको छ। 

यस वर्ष केन्द्र सरकारले ७ करोड ५७ लाख र प्रदेश सरकारले ११ करोड ६७ लाख ३० हजार बजेट विनियोजन गरेको छ। १० वटै पालिकामा सहज रुपमा सिँचाइ व्यवस्थापन गर्ने योजनाअनुरुप काम अगाडि बढाइएको छ। जिल्लामा अधिकांश क्षेत्र पाखोबारी र केही भाग मात्रै समथर भूभाग भएको हुँदा सबै क्षेत्रमा सिँचाइ व्यवस्थापन गर्न कठिन देखिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका निमित्त डिभिजन प्रमुख झकलमान ओझाले जानकारी दिए।

उनले कार्यालयबाट सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी काम हुँदै आए पनि जनताको चाहनाअनुसार काम हुन नसकेको बताए। ‘अहिलेसम्म बागलुङमा खेतीयोग्य जमिनको २० प्रतिशत मात्रै सिँचाइ गर्न सकेका छौं। जिल्ला भौगोलिक रुपमा विकट छ। खेतीयोग्य जमिन धेरै ठाउँमा छरिएर रहेको हुँदा जनताले चाहेअनुसार सिँचाइको व्यवस्थापन हुन सकेको छैन’, ओझाले भने।

बागलुङमा सिँचाइ योजनाको माग निकै बढेको र कार्यालयले सबै क्षेत्रमा सिँचाइको पहुँच पुर्‍याउने लक्ष्य भए पनि पछिल्लो समय धान तथा गहुँ खेती हुने खेतबारीमा सिँचाइका योजना पर्ने गरेको उनले बताए। सिँचाइको पहुँच पुगेपछि धान फल्ने क्षेत्रफल पनि बढेको छ। गत वर्ष ५ हजार ८०० हेक्टर क्षेत्रफलमा धान लगाइएकामा यस वर्ष ६ हजार हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो। 

सिँचाइ राम्रो भएपछि यस वर्ष जिल्लामा धान उत्पादनसमेत बढेको पाइन्छ। गत वर्ष १८ हजार ३५४ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष १८ हजार ६९० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

बागलुङ नगरपालिका–४ का टीकाराम सापकोटा जिल्लामै बढी धान फेदीमा उत्पादन हुने भए पनि सिँचाइको राम्रो व्यवस्थापन नहुँदा हरेक वर्ष धान उत्पादनमा कमी आएको बताउँछन्। सापकोटा भन्छन्, ‘यहाँ यति ठूलो धान फल्ने फाँट छ तर सिँचाइको समस्या छ। कुलो सानो छ, खेतीयोग्य जमिन धेरै भए। धान रोपेपछि पानी पाउनै मुस्किल हुन्छ। कहिले त अकासे पानीको भरमा खेतमा धान रोप्नुपर्ने अवस्था हुन्छ।’

स्थानीय यामबहादुर केसीले खेतीयोग्य जमिनमा सिँचाइको राम्रो प्रबन्ध नहुँदा परनिर्भर बन्नुपरेको बताए। खोलाबाट खेतसम्म ल्याउने कुलो राम्रो नहुँदा किसानलाई बाली लगाउने बेला सिँचाइकै पिरलो हुने उनको भनाइ छ। धान, मकै र गहुँ यस क्षेत्रमा राम्रो उत्पादन हुने भए पनि सिँचाइ अभावका कारण हरेक वर्ष उत्पादन घट्दै गएको उनले बताए। 

‘हाम्रो गाउँठाउँमा बालीनाली निकै राम्रो हुन्छ। पहिले–पहिले सिँचाइको समस्या थिएन। अहिले मान्छे बढ्दै गएपछि खेती गर्ने ठाउँ पनि बढेको छ। पहिले निर्माण गरेका कुलो अहिले साँघुरा भए’, केसीले भने।

बागलुङमा ४६ हजार १४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार ५२३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ। त्यसमध्ये ६ हजार १४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच छ। खेतीयोग्य जमिनको २० दशमलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा पुगेको छ। त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र २ हजार ७७५ हेक्टर छ। पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिनसमेत बाँझिदै गएका छन्।–रासस

प्रकाशित: Dec 17, 2022| 18:00 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्