सोमबार, असार २३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सम्पत्ति शुद्धीकरणमा कडाइ गर्दै राष्ट्र बैंक, एकै महिनामा ५ वटा निर्देशन

सम्पत्ति शुद्धीकरणमा कडाइ गर्दै राष्ट्र बैंक, एकै महिनामा ५ वटा निर्देशन

पछिल्लो समय नेपालमा सम्पत्ति शुद्धीकरणका केस बढिरहेको तथा त्यस्ता क्रियाकलापमा लाभको पद र ठूला व्यक्ति नै संलग्न भएको आशंका देखिएपछि नियन्त्रणका लागि राष्ट्र बैंकको पहल।
 |  शुक्रबार, पुस १, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९

काठमाडौं- बिहीबार नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक नियुक्तिमा कडाइ गर्ने खाले निर्देशन जारी गर्‍यो। केन्द्रीय बैंकले जारी गरेको निर्देशनमा आतंकवादी, भ्रष्टाचारजस्ता कानुनको बर्खिलाप हुने क्रियाकलापमा संलग्न भएको व्यक्ति सीईओ वा सञ्चालक हुन नपाउने, यदि पहिले त्यस्ता क्रियाकलापमा संलग्न भएको भए कम्तीमा कारबाही समाप्त भएको ५ वर्ष कटिसक्नुपर्ने व्यवस्था ल्यायो। 

राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा गरेको नियमन तथा सुपरिवेक्षणमा सरकारको समेत स्वामित्व रहेको कृषि विकास बैंकलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेको भन्दै २० लाख जरिमाना तिराएको सूचना प्रकाशित गरेको थियो। 

कृषि विकास बैंकका सीईओ अनिल उपाध्याय नेपाल बैंकर्स संघ अध्यक्षसमेत हुन्। उपाध्याय मात्र हैन, नेपालमा केही बैंकहरूले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन बेवास्ता गरेको राष्ट्र बैंकले बारम्बार भन्दै आएको छ।

यसअघि पनि राष्ट्र बैंकले विभिन्न बैंकलाई जरिमाना गर्दै आएको थियो। सोही कारण केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको सीईओ वा सञ्चालकका लागि कडाइ गरेको हो। 

त्यस्तै, गत २३ मंसिरमा एक सूचना प्रकाशित गरी केन्द्रीय बैंकले सम्पत्ति शुद्धीकरण महाशाखा स्थापना गरी काम गर्ने सूचना जारी गर्‍यो भने २१ मंसिरमा  वित्तीय जानकारी इकाइले लामो प्रतिवेदन सार्वजनिक गरी नेपालमा सम्पत्ति शुद्धीकरणका केश बढ्न थालेको स्पष्ट जानकारी दियो। 

त्यस्तै, गत १८ मंसिरमा पुनः कालोधन शुद्धीकरण र आतंकवादी क्रियाकलापमा आर्थिक गतिविधि एसेसमेन्ट गाइड लाइन जारी गर्‍यो। १६ मंसिरमा परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाले अवलम्बन गर्ने गरी ‘सम्पत्ति शुद्धीकरणसम्बन्धी एकीकृत निर्देशन २०७८’ मा संशोधन गरेको जानकारी दियो। 

राष्ट्र बैंकले बनाएको गोप्य रिपोर्टका अनुसार नेपालमा केही ठूला व्यावसायिक घराना नै कालोधन ओसारपसारमा संलग्न रहेका छन्। उक्त प्रतिवेदनमा विदेशमा छोराछोरीलाई पढ्न पठाउने, कलेज फी उतैबाट तिरेर यता कालोधन भने सम्बन्धित व्यक्तिलाई दिने गरेको पाइएको छ।

माथि उल्लिखित निर्देशन सम्पत्ति शुद्धीकरणसम्बन्धी एकै महिनामा दिएको हो। गत मंसिरमा मात्रै राष्ट्र बैंकले पाँच वटा निर्देशन दिएको छ। यसबाट के स्पष्ट हुन्छ भने पछिल्लो समय नेपालमा सम्पत्ति शुद्धीकरणका केश बढिरहेको तथा त्यस्ता क्रियाकलापमा लाभको पद र ठूला व्यक्ति नै संलग्न भएको आशंका छ। सो कार्य नियन्त्रणका लागि राष्ट्र बैंक लागिरहेको देखिएको छ। 

तर नेपालमा सम्पत्ति शुद्धीकरणका केश बढेर मात्र नभएर सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापसम्बन्धी ‘कन्ट्री एसेसमेन्ट’को कार्य भइरहेको हुँदा राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणका विषयमा निर्देशन जारी गरी थप कडाइ गरेको हो। 

कन्ट्री एसिसमेन्टमा नेपाल ‘ग्रे’सुचीमा नपरोस् भन्ने उद्देश्यले राष्ट्र बैंक आफूले सक्दो क्रियाकलाप गरेर कन्ट्री एसेसमेन्टमा आएकाको मन जित्ने प्रयास गरिरहेको छ।

यति मात्रै होइन, बेलाबेलामा राजनीतिक पृष्ठभूमि भएका केही प्रसिद्ध व्यक्तित्व तथा ठूला घरानाका व्यवसायी नै हुन्डी, कालो धन ओसारपसारलगायत क्रियाकलापमा संलग्न हुने गरेको पाइएको छ। त्यसलाई सन्तुलनमा ल्याउन र नियन्त्रण गर्न पनि पछिल्लो समय सम्पत्ति शुद्धीकरणसम्बन्धी सुपरिवेक्षणमा राष्ट्र बैंक कडा रुपमा उत्रिएको हो। 

राष्ट्र बैंकले बनाएको गोप्य रिपोर्टका अनुसार नेपालमा केही ठूला व्यावसायिक घराना नै कालोधन ओसारपसारमा संलग्न रहेका छन्। उक्त प्रतिवेदनमा विदेशमा छोराछोरीलाई पढ्न पठाउने, कलेज फी उतैबाट तिरेर यता कालोधन भने सम्बन्धित व्यक्तिलाई दिने गरेको पाइएको छ। यस्तो रकम कुनै पनि क्रियाकलापमा नदेखिने भएकाले यसलाई कालो धन ओसार–पसारको संज्ञा दिने गरिएको छ।

राष्ट्र बैंकको वित्तीय जानकारी इकाइको प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २ हजार ३८० वटा शंकास्पद कारोबारको रिपोर्टिङ भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो रिपोर्टिङ १ हजार ५३३ वटा शंकास्पद कारोबारको रिपोर्टिङ केन्द्रीय बैंकमा भएको थियो।

शंकास्पद कारोबार भएको खण्डमा ३ दिनभित्र बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा रिपोर्टिङ गर्ने व्यवस्था गरिएको छ। यस्तो रिपोर्टिङ आफूकहाँ आएपछि केन्द्रीय बैंकले अनुसन्धान विभागमा अनुसन्धानका लागि फाइल पठाउँछ। तर त्यस्ता फाइल विभागबाटै गायब हुने गरेको राष्ट्र बैंक सम्बद्ध अधिकारीहरू नै बताउँछन्।

अबका दिनमा त्यस्ता गतिविधिलाई विशेष चासो दिएर अध्ययन गर्न राष्ट्र बैंकले छुट्टै महाशाखा समेत निर्माण गर्ने गरी तयारी थालिसकेको छ। १ माघदेखि सञ्चालनमा आउने उक्त महाशाखाले सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापको छानबिनमा विशेष जोड दिने राष्ट्र बैंकको विश्वास छ। 


प्रकाशित: Dec 16, 2022| 17:10 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्