काठमाडौं– उपत्यकास्थित ट्राफिक प्रहरी कार्यालयले मंसिरमा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको बताएको छ।
ट्राफिकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली, २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच पटक बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार निलम्बनका लागि पठाइएका सबैभन्दा धेरै कारबाहीमा १ जना ४४ पटक , ३५ पटक कारबाही १ जना, २४ पटक परेका ३ जना, १४ पटक परेका १ जना , १२ पटक परेका ७ जना रहेका छन्।
यस्तै, ७ पटक परेका २ जना र ६ पटक कारबाहीमा परेका ४५ जना गरी जम्मा ६० जनाका सवारी चालक अनुमतिपत्र निलम्बनका लागि कार्यालयले यातायात व्यवस्था विभाग पठाएको हो। उनीहरुले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको भट्टले बताए। ट्राफिका नियम उल्लंघन गरिरहने चालकबाटै सवारी दुर्घटना भएको तथ्यांकले समेत देखाएको छ। सवारी दुर्घटनामा परेका अधिकांश सवारी चालक यसअघि पनि पटक–पटक कारबाहीमा परेको भट्टले जानकारी दिए।