मंगलबार, असार २४, २०८२

कालीगण्डकी करिडोर निर्माण धमाधम

विभिन्न योजना सञ्चालनका क्रममा भएका अवरोध हटाउने नगरपालिकाले सूचना र योजना सञ्चालनमा सहयोग गर्ने जिम्मा लिएसँगै सडक निर्माणको काम सुरु भएको हो।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

रामपुर (पाल्पा)– विवादका कारण रोकिएको कालीगण्डकी करिडोर सडक निर्माण अघि बढेको छ। करिब तीन वर्षदेखि कालीगण्डकी करिडोर सडकअन्तर्गत रामपुर नगरपालिका–५ स्थित मटेरी ठूलोटारमा स्थानीयको विवादले सडक निर्माण रोकिएको थियो। 

राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको सो सडकसँग जोडिएका स्थानीयको विवादका कारण सडक निर्माणले गति लिन सकेको थिएन। सार्वजनिक जग्गा संरक्षण पक्ष र सो क्षेत्रमा घरजग्गा पर्ने पक्षबीच सडक निर्माणका विषयमा लामो समयदेखि विवाद बल्झिएको थियो। 

रामपुर नगरपालिकाको पहलमा अहिले सडक निर्माण सुरु गरिएको छ। विभिन्न योजना सञ्चालनका क्रममा भएका अवरोध हटाउने सूचना जारी गरेको नगरपालिकाले अवरोध हटाउने र योजना सञ्चालन गर्न सहयोग गर्ने जिम्मा लिएसँगै विवादले रोकिएको सडक निर्माणको काम सुरु भएको हो। 

पिपलडाँडा–गैंडाकोट सडक योजनाअन्तर्गत विवादले रोकिएको मटेरी ठूलोटार क्षेत्रमा पर्ने ४५० मिटर सडक ११ मिटर चौडाइ कालोपत्रसहित निर्माण हुने कालीगण्डकी करिडोर योजनाका इन्जिनियर विष्णु भट्टराई बताउँछन्। स्थानीयको अवरोधका कारण रोकिएको सडक निर्माणका लागि स्थानीयबीच आपसी समझदारीमा काम गर्ने भनिए पनि त्यो हुन नसकेपछि नगरपालिकाको सहयोगमा करिडोर सडक योजनाले डिपिआरअनुसार नै काम गर्न सुरु गरेको उनले बताए। 

रामपुर नगरपालिका–२ भलायटारस्थित सडक निर्माण हुन सकेको छैन। सो सडकखण्डमा कालीगण्डकी करिडोर सडक योजनाको डीपीआरअनुसार नै निर्माण हुने उनले बताए। वर्षायाममा हिलो र हिउँदमा धुलाम्य सडकमा सर्वसाधारणले कष्टकर यात्रा गर्नुपर्ने समस्या रहेको स्थानीय युवा दीपेन्द्र भट्टराई बताउँछन्।

‘पानी परेपछि बाटो हिलाम्य भएर सडक वारपार गर्नै नसक्ने अवस्था थियो। मोटरसाइकल, स्कुटरबाट लडेर कतिपय घाइतेसमेत भएका छन्। विवादले रोकिएको सडक अहिले निर्माणको कामले स्थानीय उत्साहित भएका छन्’, उनले भने। सडकसँग जोडिएका स्थानीयले उच्च अदालत तुलसीपुरमा रिट दायर गरेपछि आयोजनाको काम अगाडि बढ्न सकेन।

रिट दायर पक्ष र रामपुर नगरपालिकाबीच छलफल हुँदा एक÷दुई मिटर तलमाथि मिलाएर काम गर्ने सहमति भएपछि रिट दायर पक्षले निवेदन निकालेर काम गर्न खोज्दा सार्वजनिक जग्गा संरक्षणको पक्षमा रहेका स्थानीयले चउर मिच्न नपाइने भन्दै काम रोकिन पुगेको रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताए। 

‘सहमतिपछि सडकको उत्तरतर्फको भागमा (बस्ती बसोबास जोडिएको) नाली खन्ने काम गरियो, दक्षिणतर्फको भागमा (सार्वजनिक चौर) खन्ने क्रममा स्थानीयबाट चौर मिचिने भयो भन्दै अवरोध भएपछि काम बन्द गर्नुप¥यो। पहिलाको सहमतिअनुसार काम नभएपछि मापदण्डअनुसार गत २६ मंसिरदेखि सडक निर्माणको काम सुरु गरिएको छ’, वडाध्यक्ष पोखरेलले भने। 

नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्दै राष्ट्रिय गौरवको आयोजनाबाट सुरु गर्ने र त्यसपछि नगर गौरवका योजना, वडा गौरवमा योजना पर्ने सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने नगर प्रमुख रमणबहादुर थापा बताउँछन्। ‘स्थानीयको विवादले लामो समयसम्म काम हुन सकेन, यात्रुले सास्ती खेप्नु परेको छ’, उनले भने, ‘नगरभित्रका सञ्चालित राष्ट्रिय गौरवका आयोजना, नगर गौरव र वडा गौरवका योजनामा परेका सार्वजनिक जग्गामा बनेका संरचना हटाएर काम गरिनेछ।’ 

योजना सञ्चालनमा बाधा पु¥याउने गरी सार्वजनिक स्थानमा निर्माण भएका अवैध संरचनासमेत हटाउने नगर प्रमुख थापाले बताए। विवादले रोकिएको सडकमा यसभन्दा अघि पटक–पटक स्थानीय तथा यात्रुले काम अघि बढाउन स्थानीय सरकार, कालीगण्डकी करिडोर सडक योजनासमक्ष आग्रह गरिरहेका थिए।

केही व्यक्तिको अवरोधले गर्दा रामपुर क्षेत्रमा अधिकांश स्थानमा कालीगण्डकी करिडोरका काम सम्पन्न भइसक्दा मटेरी ठूलोटार र भलायटार क्षेत्रमा अलपत्र रहँदा सडक नै कुरुप बनेको छ। कालीगण्डकी करिडोर सडक निर्माणको योजनाले रामपुर क्षेत्रमा विकासको गति अगाडि बढाएको छ।–रासस

प्रकाशित: Dec 15, 2022| 17:20 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्