काठमाडौं– घटेको स्प्रेडदर (निक्षेप र ऋणमा दिने व्याजको अन्तर) आगामी चैतदेखि मात्र लागू हुने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत घटाएको स्प्रेडदर बैंकहरुको अनुरोधका कारण आगामी चैतदेखि मात्र कार्यान्वयनमा ल्याउने भएको हो।
बुधबार मौद्रिक नीति २०७९–८० को पहिलो त्रैमासिक समीक्षामार्फत ल्याइएका नीति कार्यान्वयन गर्न जारी गरेको एकीकृत निर्देशन अनुसार स्प्रेडदर ४.४ प्रतिशतबाट ४ प्रतिशतमा झारिएको थियो।
राष्ट्र बैंकका अनुसार चैत २०७९ बाट औसत ब्याजदर अन्तर ‘क’ वर्गका वाणिज्य बैंकहरुको हकमा ४.२ प्रतिशत र ‘ख’ र ‘ग’वर्गका संस्थाको हकमा ४.८ प्रतिशत भन्दा बढी नहुने व्यवस्था गर्न बैंक तथा वित्तिय संस्थाको नाममा निर्देशन दिएको छ।
स्प्रेडदर अन्तर भने २०८० असार महिनाबाट ‘क’ वर्गका वाणिज्य बैंकको हकमा ४ प्रतिशत र ‘ख’ र ‘ग’ वर्गका संस्थाको हकमा ४.६ प्रतिशत भन्दा बढी नहुने गरी व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ। अहिले ‘क’ वर्गमा वाणिज्य बैंकहरुको हकमा ४.४ प्रतिशत र ‘ख’ र ‘ग’ वर्गका संस्थाको हकमा ५ प्रतिशत स्प्रेडदर रहेको छ।