सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले बेरोजगार युवालाई रोजगारी दिन अनुदान सापटी सुविधासम्बन्धी कार्यविधि, २०७९ पारित गरेको छ। नगरबासीमा प्रारम्भिक उद्यमशीलता विकास गराउन सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यविधि पारित गरिएको विधान समिति संयोजक एवं ११ नम्बर वडाध्यक्ष रोशन गिरीले जानकारी दिए।
उनका अनुसार रोजगारी चाहने युवाले नगरपालिकाबाट पशुपक्षी, माछापालनसहितका कृषियन्त्र उपकरण आदिका लागि सापटी अनुदानबापत ५० हजारदेखि २ लाखसम्म प्राप्त गर्नेछन्। नगरपालिकाले प्रारम्भिक उद्यमी बन्न सापटीको रुपमा दिनेछ भने उद्यमशील बनेपछि अनुदानको रुपमा रुपान्तरण गरिनेछ।
उनका अनुसार व्यवासयमा रुचिभएका अत्यन्त विपन्न नागरिकलाई उक्त अवसर दिएर प्रारम्भिक उद्यमशीलता विकास गर्न तथा व्यावसायिक ज्ञान दक्षता वुद्धि गर्ने हेतुले व्यवसाय सिर्जना सुरुआत, सुधार, विस्तार र विकासमा सहयोग पु¥याउन नगरले तालिमसमेत प्रदान गर्नेछ। कार्यविधिमा उल्लेख गरे अनुसार सापटी अनुदान पाउने व्यक्तिको परिवारको लगत विवरण वार्षिक रुपमा तयार गरी त्यसपछिका दुई वर्षसम्मको छनोट प्रक्रिया पनि पहिलो वर्षमा गर्न सकिनेछ।
त्यस्तै, सापटी प्रदान गरिएका पशुपक्षीको बिमा गरे ५० प्रतिशतसम्मको साझेदारी गर्न सकिने उल्लेख छ। कार्यविधिमा उल्लेख गरिएअनुसार सापटी रकम ५० हजार बढी भए निवेदनसाथ जग्गाधनी प्रमाणपुर्जा, व्यक्ति भए एकाघर परिवारका तीन जना व्यक्तिको मञ्जुरी नामा वा दुई परिवारको ग्यारेन्टी, समूह भए समूहको ग्यारेन्टी आवश्यक पर्नेछ।
प्रारम्भिक उद्यमशीलताको पहिलो चरणमा सरकारी जागिरे वा पेन्सन प्राप्त व्यक्तिलाई छनोट नगरिने नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले बताए। उनका अनुसार प्रत्येक तीन वर्षमा एक सापटी चरणको चक्र पूरा भई चौथो वर्षबाट पुन चक्र सुरु हुने जनाइएको छ।
उद्यमीले कृषि उत्पादनदेखि पशुपालन तथा अन्य व्यवसाय गर्न उक्त रकम प्राप्त गर्नेछन्। जसअनुसार लैनो भैंसी खरिदका लागि ५० हजारदेखि १ लाखसम्म प्राप्त गर्नेछन्। उद्यमीले बाख्रा, बङ्गुर, पक्षीपालन लोक्कल कुखुरा, हाँस बट्टाई, लेयर्स कुखुरा, कालिज, कटकनाथ, माछापालन, डेरी उद्योग, कोल्डस्टोर तथा कृषि उपज बजारीकरणलगायतमा सहयोग प्राप्त गर्नेछन्।–रासस