काठमाडौं– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटर राजधानीमा वितरण भइरहेको छ।
काठमाडौं उपत्यका खानेपानी (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्भ’ मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको हो। सोही कारण सबै पानी अझै राजधानीमा वितरण हुन सकेको छैन। बुधबार बेलुकीदेखि भने १२ करोड लिटर पानी वितरण गरिने केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले बताए।
मेलम्चीको पानी राजधानीमा वितरणका लागि बनाइएका १० पानी ट्यांकीमध्ये हालसम्म आठ वटामा पानी पुगिसकेको छ। हालसम्म बोडेस्थित टिग्नी, कटुञ्जे, खुमलटार, मीनभवन, महाँकालचौर, पानीपोखरी, अनामनगर र बालाजुका पानी ट्यांकीमा मेलम्चीको पानी पुगेको छ। कीर्तिपुर र बाँसबारीका ट्यांकीमा चार दिनभित्र पानी पुग्ने उनको भनाइ छ।
चार दिनभित्र १७ करोड ५० लाख लिटर पानी ग्राहकका धारामा पुग्नेछ। मेलम्ची खानेपानी आयोजनाले १८ मंसिरदेखि नै १७ करोड ५० लाख लिटर पानी राजधानीमा ल्याइसकेको प्रवक्ता राजेन्द्र पन्तले बताए। सुरुङ् सफा गरेर २३ मंसिरदेखि राजधानीमा खानेपानी वितरण भइरहेको छ। कति ठाउँमा पाइप फुटेका कारण सडकमा पानी जाने समस्या भइरहेको छ। समस्या समाधान गर्दै पानी वितरण भइरहेको केयुकेएलले जनाएको छ।