काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर धर्मराउँदो अर्थतन्त्रलाई गति दिन विशेष पहलका लागि आग्रह गरेको छ। महासंघले आन्तरिक र बाह्य कारणले अर्थतन्त्रमा बहुआयामिक प्रभाव परिरहेको हुँदा तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व एवं मूल्य स्थिरताका राष्ट्र बैंकबाट विशेष पहल हुनुपर्नेमा ध्यानाकर्षण गराएको हो।
अध्यक्ष शेखर गोल्छा नेतृत्वको महासंघ पदाधिकारी, प्रदेश च्याप्टरका अध्यक्ष र कार्यकारिणी समितिका सदस्य सम्मिलित प्रतिनिधिमण्डलले गभर्नर अधिकारीसहितका उच्च पदाधिकारीलाई भेटेर उक्त आग्रह गरेको हो ।
‘नेपालको निजी क्षेत्र सम्भवतः हालसम्मकै कठिन अवस्थाबाट गुज्रिरहेको छ,’ अध्यक्ष गोल्छाले भने, ‘ब्याजदर स्थायित्व, चालू पुँजी कर्जासम्बन्धी नयाँ व्यवस्था स्थगन आदि उपायका माध्यमबाट केन्द्रीय बैंकले निजी अर्थतन्त्र चलायमान बनाउनुपर्दछ। मौद्रिक नीतिको समीक्षाले पनि समस्या समाधान गर्न सकेन।’
अर्थतन्त्र जोगाऔं अभियानलाई महासंघले अगाडि बढाएको र यसक्रममा देशका प्रमुख राजनीतिक दलका शीर्षस्थ नेता, सरकार प्रमुख र अर्थमन्त्रीसमेतलाई भेटेर समस्या समाधान गर्न आग्रह गरेको र सोही क्रममा गभर्नरसमक्ष भेट गरिएको उनले स्पष्ट पारे। अर्थतन्त्रका महत्त्वपूर्ण आधार सिमेन्ट, डन्डी, घरजग्गा व्यवसाय, निर्माण, अटोमोबाइललगायत क्षेत्रमा ६० प्रतिशतसम्म गिरावट आएकाले तत्काल सिंगो निजी क्षेत्रलाई चलायमान बनाउने वातावरण बनाउन अध्यक्ष गोल्छाले गभर्नर अधिकारीसमक्ष आग्रह गरे।
राष्ट्र बैंकले २०७९ कात्तिकदेखि लागू गरेको चालू पुँजी मार्गदर्शन २०७९ को व्यवस्थाले मुलुकको उद्यम व्यवसायमा प्रतिकूल असर पर्नेतर्फ महासंघले पटक–पटक आफ्नो धारणा सार्वजनिक गर्दै केन्द्रीय बैंकको ध्यानाकर्षण गराउँदै आएको उनले बताए।
महासंघले सरकारी ढुकुटीमा रहेको रकम प्रवाह गरी तरलता व्यवस्थापनका उपाय अवलम्बन गर्न, स्थानीय तहमा जाने रकमलाई निश्चित अवधिका लागि शतप्रतिशत गणना गर्ने व्यवस्था मिलाउन, पुँजीगत खर्च हुन नसक्नुको कारण पहिल्याउन, वैदेशिक लगानी आकर्षित गर्न बजेटमा उल्लेखित स्वचालित प्रक्रिया कार्यान्वयन गनुपर्नेलगायत सुझाव गभर्नर अधिकारीलाई दिएको छ। भेटमा गभर्नर अधिकारीले निजी क्षेत्रबाट प्राप्त सुुझाव अध्ययन गरी निर्णय गरिने विश्वास दिलाएको महासंघले बताएको छ।