काभ्रेको बेथानचोक गाउँपालिका-४ मा बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ। बेथानचोक-४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बा ३ ख ४३८५ नम्बरको बस मंगलबार साँझ ६ बजेतिर दुर्घटना भएको हो।
दुर्घटनामा १७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। मृतकको पहिचान भएको छैन।
शिर मेमोरियल अस्पताल बनेपामा उपचारका लागि लगिएका १४ मध्ये ४ जनालाई काठमाडौं रिफर गरिएको छ। केही घाइतेको धुलिखेललगायत अस्पतालमा उपचार भइरहेको छ।
बनेपा नगरपालिका वडा नम्बर ११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिकाको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको हो। बसमा सवार कति यात्रु थिए भन्ने यकिन भएको छैन। नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरिरहेको छ।