मंगलबार, असार २४, २०८२

जापान र फ्रान्समा बेचिँदै गुल्मीको कफी

उत्पादित कफी जिल्ला सहकारी संघमार्फत जापान र फ्रान्समा निर्यात हुन थालेको हो।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

गुल्मी– गुल्मीमा उत्पादित कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि किसानको ऊर्जा थपिएको छ। उनीहरू कफी खेतीमा थप आकर्षित हुन थालेका छन्। यहाँ उत्पादित कफी जिल्ला सहकारी संघमार्फत जापान र फ्रान्समा निर्यात हुन थालेको हो।

संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच टन कफी निर्यात हुँदै आएको छ। किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ। यसबाट संघले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचार्यको भनाइ छ।

कफी विकास केन्द्र गुल्मीका प्रमुख जीवन आचार्यले कफीको बिउ स्रोत केन्द्रका रूपमा काम गरिरहेको बताए। कुल ६ हेक्टर क्षेत्रफलमा बीउका लागि कफी खेती गरिएको छ। अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुन थालेपछि कफी खेतीमा किसान आकर्षण बढेको छ।

रेसुंगा नगरपालिका–८ का २५ वर्षीय मनोज पाण्डे र २४ वर्षीय सरोज बेल्बासे व्यावसायिक कफी खेतीमा लागेका छन्। आँपचौरको पिपलारुखमा २०० रोपनीमा डेढ वर्षदेखि कफी खेतीमा रमाएका उनीहरूले २० हजार कफीका बिरुवा रोपेका छन्।

‘विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै मिहिनेत गरौं भन्ने सोचले कफी खेती सुरु गरेका हौं,’ बेल्बासेले भने। मनोज र सरोजले गरेको कफी खेतीबाट हाल १ हजार बिरुवाले उत्पादन दिइरहेका छन्। मनोजका अनुसार गत वर्ष यसबाट ७ लाख आम्दानी भएको थियो।

उनीहरूले हालसम्म कफी खेतीमा ५१ लाख लगानी गरिसकेका छन्। कफी खेतीसँगै कफी प्रशोधन, प्याकेजिङ र बजारीकरणसमेत उनीहरूले आफैं गर्दै आएका छन्। उनीहरूले सिजनमा ३५ जना र अन्य समय दैनिक पाँच जनालाई रोजगारीसमेत दिएका छन्।

उनीहरू मात्रै होइन, आँपचौरका अधिकांश परिवार कफी खेती होमिएको छ । केहीले व्यावसायिक रूपमा केहीले घरखर्चका लागि मात्रै पनि कफी खेती गरेका छन् ।

आँपचौरका किसान कपिला खरेलको कपिला कृषि तथा पशुपक्षी फर्म छ। फर्ममा व्यावसायिक रूपमा कफी खेतीसँगै केरा खेती र कुखुरापालन पनि गरिएको छ। उनले रोपेका दुई सय कफीका बोट उत्पादन दिने अवस्थामा छन्। कफी खेती विस्तारका लागि उनी छहारी निर्माणमा लागेकी छन्।

आँपचौरकै दुर्गा खरेलले पनि कफी खेतीलाई बगैंचाका रूपमा विस्तार गरेका छन् । उनले प्रत्येक वर्ष ४ क्विन्टल बढी कफी बिक्री गर्दै आएका छन्। ‘कफी खेतीमा लगानी नडुब्ने भएकाले पनि युवाहरू आकर्षित भएका हुन्,’ उनले भने।

गुल्मीको आँपचौर कफीको उद्गमस्थल हो। मुसिकोट नगरपालिका–५ आँपचौरबाटै नेपालमा कफीको विस्तार भएको मानिन्छ। आँपचौरका स्थानीय हिरा गिरीले १९९५ मा कर्मथलो बर्माको सिन्धु प्रान्तबाट फर्किंदा कफीको बीउ ल्याएर रोपेपछि पहिलो पटक नेपालमा कफी खेतीको सुरु भएको हो।

कफीको सुरुआत भएको झन्डै तीन दशकसम्म पनि बिरुवा अन्योलमै थियो। त्यसपछि नेपाल सरकारले भारतबाट कफीको बिउ ल्याएर वितरण गरेपछि आँपचौरमा कफीको व्यावसायिक खेती सुरु भएको स्थानीय दुर्गा खरेलको भनाइ छ।–रासस

प्रकाशित: Dec 13, 2022| 19:10 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्