बागलुङ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने गरी कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुल निर्माणले गति लिएको छ। पुलको कामले ६ वर्षपछि गति लिएको हो। ‘लामो समयसम्म काम किन भएन भनेर चिन्ता लागेको थियो तर अहिले काम सुरु भएपछि आशा पलाएको छ,’ कुश्मीशेराका स्थानीय प्रेमप्रसाद शर्माले भने ।
यो पुलको निर्माण जैमिनी नगरपालिका–१ कुश्मीशेरा र पर्वतको फलेवास नगरपालिका–६ देवीस्थान जोड्ने गरी ९ असोज २०७३ देखि सुरु गरिएको थियो। प्राविधिक कारणले लामो समय काम रोकिएको पुलका संरचना बनाउने काम अहिले धमाधम भइरहेको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर किरण पौडेलले बताए।
रसुवा÷श्री गीता÷फेवा जेभीले सडक डिभिजन कार्यालयसँग पुल निर्माणको सम्झौता गरेर ६ वर्षअघि काम थालेका थिए। कार्यालयका अनुसार पुल निर्माणको काम हाल ३५ प्रतिशत भएको छ। ‘आगामी असार मसान्तसम्ममा म्याद थप भएको छ,’ पौडेलले भने, ‘थपिएको समयमा काम सकिने आश छ।’
बागलुङ र पर्वत दुवैतर्फ पुल जोडिने संरचना बनाउने काम सकिएको छ भने कालीगण्डकी नदीको बीचमा एउटा पिलर तयार भएको छ। पुलको पश्चिमतर्फको पिल्लर बनाउन कालीगण्डकी डाइभर्सनको काम भइरहेको छ।
चौथो पटक म्याद थप भएपछि पुल निर्माणको काम धमाधम भइरहेको निर्माण कम्पनीका इन्जिनियर अनिल श्रेष्ठले दाबी गरे। ‘तोकिएको समयमै पुल निर्माण सक्न चाहन्थ्यौं तर निर्माण स्थलसम्मको सडककै कारणले काम सुरु गर्न पाएनौं,’ श्रेष्ठले भने, ‘सडक साँघुरो हुँदा पूर्वाधार निर्माणका लागि आवश्यक मेसिन ल्याउन पाएनौं। सेनाले करिडोर फराकिलो बनाएपछि पुलको काम थालिएको हो।’
नदीमा पुल निर्माण गर्दा पटक–पटक पानी तर्काउनुपर्ने र वर्षायाममा पानी तर्काउन सम्भव नहुने भएकाले पनि काममा ढिलाइ भएको श्रेष्ठले बताए। नदीभित्रबाट पिल्लर उठाउने काम सकिएपछि पिलरमा जोड्ने स्लेप हाल्ने काम सुरु गरिने उनले जानकारी दिए। आगामी बर्खाअघि नै नदीभित्र गर्नुपर्ने काम सकिने भएकाले त्यसबाहेकका काममा भने अब अवरोध नआउने उनको बुझाइ छ।
१३ करोड १२ लाख ४९ हजार ३६४ रुपैयाँ लागतमा ३० महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। बागलुङ–पोखरा राजमार्गको विकल्पको रूपमा पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जा हुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्न यो पुल आवश्यक मानिएको छ।
समयमा पुल नबनेपछि दुई वर्षअघि एक साता मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध हुँदा बागलुङबासीले वैकल्पिक मार्गको प्रयोग गर्न पाएका थिएनन्। कालीगण्डकी करिडोरमा जोडिने यो पुलले पर्वत, स्याङ्जा र पोखरालाई समेत करिडोरको पहुँचमा ल्याउने काम गर्ने स्थानीय हरि केसीले बताए।
ऐतिहासिक जैमिनीधाम क्षेत्रमा निर्माण भइरहेको पुलले पर्वत र बागलुङका आर्थिक, सामाजिक र धार्मिक क्रियाकलापमा समेत प्रभाव राख्ने अपेक्षा गरिएको छ। पुल बनेमा मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आउने समस्याका कारण यात्रुले सास्ती खेप्नु नपर्ने स्थानीयको भनाइ छ।–रासस