काठमाडौं– एसियन हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन खुलाएको छ। कम्पनीले जारी पुँजी ३४ करोडको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो।
यसमध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका–१०, माई जोगमाई गाउँपालिका–३ र ४ तथा सूर्योदय नगरपालिका–११ का स्थानीयका लागि ४० प्रतिशत अर्थात् १ लाख ३६ हजार कित्ता र आयोजना अति प्रभावित क्षेत्रबाहेकको इलामका अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई बाँकी ६० प्रतिशत अर्थात् २ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ।
कम्पनीले सर्वसाधारणमा निष्कासन हुनेमध्ये १० अर्थात् ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याएको छ। १२ पुससम्म बिक्रीमा रहने आईपीओ उक्त अवधिमा सम्पूर्ण कित्ता सेयर बिक्री नभए स्थानीयले २७ पुससम्म आवेदन दिन सक्नेछन्।
यो सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ। कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ।