मंगलबार, असार २४, २०८२

भारतबाट बिजुली किन्दै प्राधिकरण

प्राधिकरणले सस्तो हुने समय भारतबाट बिजुली आयात गरी पानी जोगाउने र महँगो पर्ने समय भारत निर्यात गर्ने रणनीति अगाडि सारेको हो।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले भारतको खुला बजार (आईआईएक्स)को डे अहेड मार्केटबाट बिजुली खरिद गर्न थालेको छ। करिब २ हजार २०० मेगावाट जडित क्षमता र उच्चतम माग (पिक डिमान्ड) करिब १ हजार ६०० मेगावाट रहे पनि प्राधिकरणले व्यावसायिक लाभ हेर्दै आयात सुरु गरेको हो।

२१ मंसिरदेखि भारतबाट बिजुली आयात थालिएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए। प्राधिकरणले सस्तो हुने समय भारतबाट आयात गरी पानी जोगाउने र महँगो पर्ने समय भारत निर्यात गर्ने गरी लाभ सुरक्षित गरिरहेको उनको भनाइ छ। 

उनका अनुसार बिहान करिब ३ देखि ११ बजेसम्म विद्युत् आयात गरेर माथिल्लो तामाकोसी तथा कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको पानी सञ्चित गरिन्छ। साँझ भारतमा माग उच्च हुने र मूल्य बढी आउने समय भने थप विद्युत् उत्पादन गरी महँगोमा निर्यात हुने गरेको छ। 

भारतमा साँझ करिब ५ देखि राती १२ बजेसम्मका स्लटमा महँगोमा विद्युत् बिक्री हुन्छ। प्राधिकरणका अनुसार मंसिरमा निर्यातको औसत दर करिब ७ रुपैयाँ ७० पैसा छ भने खरिद दर  औसत ५ रुपैयाँ १० पैसा छ। प्राधिकरणले २१ देखि २५ मंसिरसम्म करिब ३८ लाख युनिट बिजुली आईआईएक्सबाट खरिद गरेको हो। यस्तै, १ देखि २५ मंसिरसम्म ८५ हजार मेगावाट आवर बिजुली बिक्री गरिसकेको छ। 

अब भने जल प्रवाह अझै घटेर विद्युत् उत्पादन कम हुने भएकाले निर्यात रोकिन सक्ने सम्भावना छ। आगामी जेठ अन्तिम साताबाट भने निर्यात पुनः सुरु हुनेछ। प्राधिकरणको आकलनअनुसार चालू आर्थिक वर्षको असारसम्म प्रणालीमा ८११ मेगावाट विद्युत् थप हुँदै छ। यसमध्ये फागुनसम्म ५४३ मेगावाट थप हुनेछ।

प्रकाशित: Dec 13, 2022| 11:07 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्