मंगलबार, असार २४, २०८२

एभोकाडोको उत्पादनमा वृद्धिसंगै माग उच्च

बर्सेनि उत्पादन वृद्धि भए पनि उत्ति नै खपतसमेत बढेको छ। माग अनुसार पुर्‍याउन नसकिएको बताइएको छ।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

मङ्गलबारे- पछिल्लो समय इलाममा समेत व्यवसायिक एभोकाडोको खेती गरिन थालिएको छ। बर्सेनि उत्पादन वृद्धि भए पनि उत्ति नै खपतसमेत बढेको छ। माग अनुसार पुर्‍याउन नसकिएको बताइएको छ। 

निकै महँगो फलको सूचीमा पर्ने यो फल इलाममा प्रायः सबै गाउँमा उत्पादन भइरहको छ। व्यावसायिक उत्पादन सुरु भने इलामको रोङ गाउँपालिकादेखि भएको हो। जिल्लामा नै पहिलो पटक उक्त गाउँपालिकाको सलकपुरमा बिरुवा रोप्न थालिएको बताइएको छ। विसं २०४५ मा पहिलो पटक एवोकाडोको बिरुवा रोप्न थालिएको बताइएको छ। 

सुरु सुरुमा स्वादसमेत धेरैलाई मन पर्दैनथ्यो र तर पछिल्लो समय स्वास्थ्यलाई समेत राम्रो मानिएकाले यो फल उपभोग गर्नेको सङ्ख्यासमेत वृद्धि हुँदै गएको छ। हाल बोटमा नै आएर व्यापारीले मोलमोलाई गरेर खरिद गर्न थालेपछि गाउँमा फुटकर रुपमा बिक्रीसमेत हुँदैन। यसको माग व्यापक वृद्धि हुँदै गएकाले छिटो सकिने गरेको सलकपुरका किसान ईश्वरी अधिकारीले बताइन्। उनका अनुसार गतवर्ष दुई बोटमा जेनेतेन ८० किलो उत्पादन भएको थियो। यसवर्ष सोही बोटमा करिब दुईसय पचास किलो उत्पादन भएको छ।

बोटबाट नै प्रतिकिलो  दुईसयमा खरिद बिक्री हुने यो फल नेपालीले मात्र होइन नजिकै रहेको छिमेकी देश भारतबाट आउने पाहुनाले समेत खरिद गरेर लैजाने गरेको किसानको भनाइ छ। विभिन्न देशकै पनि धेरै स्थानबाट माग बढ्दै गएको अधिकारी एग्रो बबना कटेजका सञ्चालक याम अधिकारीले बताए।

उनले गएको वर्षभन्दा यसवर्ष उत्पादन वृद्धि भएको बताए। साना बिरुवा रोप्ने क्रम बढिरहेकाले पनि बर्सेनि यसको उत्पादनमा वृद्धि हुँदै गएको छ। पहिला स्थानीय समाजसेवी स्वरोमस अधिकारीको बगानमा दुई वटा मात्र बिरुवा थिए। तिनै बोटबाट गाउँमा सामान्य चाख्न पुग्थ्यो। हाल उत्पादन  र मागसमेत बढेको छ। अहिले गाउँभर प्रायः सबैको बगानमा यसको उत्पादन भइरहेको छ, तर पनि खास बजार पुर्‍याउन नै नपरेको किसान कल्पना भण्डारीले बताए। उनले समेत यसको व्यवसायिक उत्पादन गर्दै आएका छन्। रोङ गाउँपालिका झापासँग नजिक रहेका कारण पनि यहाँबाट धेरै फलको कारोबार हुने गरेको छ। 

अत्यधिक पौष्टिक र प्रोटिनयुक्त यो फल सुरुमा चाना काटेर रोटीमा दलेर खाने गरिएको भए पनि अहिले यसको अतिरिक्त जुस बनाएर समेत खाने गरिएको छ। करिब दुईवर्ष अघि रोङ गाउँपालिकाले किसानको मागअनुसार अनुदानमा बिरुवासमेत वितरण गरेको स्थानीय पत्रकार गोविन्द पौडेलले बताए।

 उनले गाउँमा यसको व्यावसायिक उत्पादन गर्ने किसानको सङ्ख्यासमेत वृद्धि हुँदै गएको बताए। दर्जनौँ परिकार बनाउन सकिने एभोकाडो एउटै बोटमा  चार-पाँच सय किलोसम्म फल्ने गरेको छ। रोङ गाउँपालिकासहित इलाम नगरपालिकालगायत जिल्लाभरी नै यसको उत्पादन सुरु भएको छ। व्यावसायिक उत्पादन गर्ने किसानको सङ्ख्या भने थोरै छ। 

जिल्ला वन कार्यालय इलामले समेत गएको वर्ष र यस वर्ष किसानलाई बिरुवा वितरण गरेको छ। यो फल पनि विभिन्न जातको हुने गरेको छ। जोखेर नै कारोबार हुने गरेको भए पनि सानो फलको कम मूल्य र ठूलो फलको उच्च मूल्य हुने गरेको छ।  

यसको प्रतिकिलो एक पचासदेखि दुई सयसम्म कारोबार भइरहेको छ। खास स्वादमा नौनी घिउ जस्तो हुने गरेको छ। लाम्चो, डल्लो तथा विभिन्न साइजमा फल्ने यो फल धेरैलाई नयाँसमेत लाग्ने गरेको छ। यस मौसममा खानयोग्य हुने यो फल भण्डारण गर्ने हो भने पछि यसको मूल्य अझ उच्च हुने किसानको भनाइ छ।     -टीका खतिवडा/रासस

प्रकाशित: Dec 12, 2022| 21:30 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्