मंगलबार, असार २४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • कार्यपालिकाको निर्णय कार्यान्वयनमा जुट्यो रेसुंगा नगरपालिका

कार्यपालिकाको निर्णय कार्यान्वयनमा जुट्यो रेसुंगा नगरपालिका

गुल्मी अस्पतालमा मिर्गाैलासम्बन्धी निःशुल्क उपचार, आँखासम्बन्धी नगरपालिकाका नागरिकको निःशुल्क उपचार, जन्मदर्ता, विवाह दर्ता र मृत्यु दर्तासम्बन्धी सेवा घरमै र पशुपालन क्षेत्रलाई प्रभावकारी बनाउन ‘एआई’ कार्यक्रम सञ्चालन गरिँदै।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

गुल्मी– गुल्मीको रेसुंगा नगरपालिकाले पहिलो कार्यपालिकाको बैठकबाट मुख्य चार निर्णय गरेको थियो। सदरमुकामसहितको नगरपालिका भएकाले सबै गुल्मेलीको गुल्मी अस्पतालमा मिर्गाैलासम्बन्धी निःशुल्क उपचार, आँखासम्बन्धी नगरपालिकाका नागरिकको निःशुल्क उपचार, जन्मदर्ता, विवाह दर्ता र मृत्यु दर्तासम्बन्धी सेवा घरमै पुगेर गर्ने र पशुपालन क्षेत्रलाई प्रभावकारी बनाउन ‘एआई’ कार्यक्रम सञ्चालन गर्नेलगायत निर्णय भएका थिए।

पहिलो कार्यपालिकाका यी चार निर्णय र अन्य काम अहिले रेसुंगा नगरपालिकाले अभियानकै रुपमा गरिरहेको छ। गत साता नगरपालिकाका ४६ आँखाका बिरामीले नेत्रज्योति संघमार्फत निःशुल्क उपचार पाए। आँखाको ज्योति गुमेका उनीहरुले नगरपालिकाको सहयोगमा मोतियाबिन्दुको शल्यक्रियापछि सुन्दर संसार देख्ने अवसर पाएको अनूभूति गरे। योसँगै पहिलो कार्यपालिकाका निर्णय कार्यान्वयन भइरहेको नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए। 

नगरपालिकाले तम्घास बजारलाई सुन्दर बनाउन अव्यवस्थित तार हटाउने कामलाई पनि अगाडि बढाएको छ। नेपाल टेलिकम गुल्मी, विभिन्न केबल कार्यालय र अन्य झुन्ड्याइएको तारको व्यवस्थापन अघिल्लो साता निर्णय गरेर यो हप्ता कार्यान्वयनमा गएको नगरप्रमुख पन्थीको भनाइ छ। 

माध्यमिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट जीपिए ल्याउने विद्यार्थीलाई मासिक ४ हजार छात्रवृत्ति उपलब्ध गराउने निर्णय कार्यान्वयन गरिसकेको छ। नगरपालिकाले जन्म, विवाह र मृत्यु दर्ताको काम घरघरमा पुगेर सेवा गरिरहेको छ। तम्घास बजारमा रहेको जीर्ण पौवालाई हटाएर नगरपालिकाले सुन्दर प्रतिक्षालय बनाउन थालेको छ। पुरानो बजारमा रहेको इन्द्रवीर पौवा भत्काएर प्रतीक्षालयको काम अगाडि बढेको छ। निजी कम्पनीलाई भाडामा दिएर रेसुंगाले हाट बजार सञ्चालन गरेको छ।

तम्घास बजारको सडक कालोपत्रे गरेर सुन्दर बनाउन पनि नगरपालिकाले निर्णय गरेर अगाडि बढेको छ। सडक छेउछाउमा पर्ने खानेपानीका लाइन व्यवस्थापन गर्न उपभोक्ता समितिलाई भनिएको छ। रेसुंगा नगरपालिकाभित्रका विभिन्न विकासका योजनाको गुणस्तरीयता र आयोजना समयमै सम्पन्न गर्न निर्माण व्यवसायीसँग छलफल गरेको नगरप्रमुख पन्थीले जानकारी दिए।

तम्घासको सहिद चोकको शम्शेरबहादुर खत्रीको शालिकको संरक्षण र व्यवस्थित बनाउन नगरपालिकाले काम गरिरहेको छ। तम्घासको खेलमैदानका रुपमा रहेको चिदीचौरलाई व्यवस्थित बनाउने काम नगरपालिकाले अगाडि बढाएको छ। 

जिल्लाभित्रका सबै सडक पूर्वाधार निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाउन पनि नगरपालिको अगुवाइमा जिल्ला समन्वय प्रमुख द्रोर्णबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, सम्बन्धित कार्यालय प्रमुख र इन्जिनियरसँग छलफल गरेर काम अगाडि बढेको नगरप्रमुख पन्थीले बताए। 

नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको अध्यक्षसमेत रहेका पन्थीले आफूहरुले अभियानकै रुपमा काम गरिरहेको दाबी गरे। ‘हामीले अरु पालिकालाई समेत उदाहरण दिने गरी अभियानकै रुपमा काम गर्नु छ’, उनी भन्छन्, ‘समुन्नत गुल्मीका लागि अभियानमा रेसुंगाबाटै काम गरेका छौं।’ ‘समुन्नत रेसुंगा हाम्रो शान, उत्कृष्ट नगर सबैको पहिचान’ मूल नाराका साथ नगरपालिकाले काम गरिरहेको जनाइएको छ।–रासस

प्रकाशित: Dec 12, 2022| 17:20 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्