बुधबार, असार २५, २०८२

अचार व्यवसायले बदलेको वासुकलाकाे जीवन

जीवनका संघर्ष निकै कष्टकर थियो। कमाइ ल्याउने र पकाइ खानेमै सकस थियो उनको परिवारलाई। तर यतिबेला भने उनको दैनिकी फेरिएको छ। अचार बनाउने तालिममा सहभागी बनेकी उनलाई यतिबेला व्यावसायिक अचार उत्पादनमा भ्याइनभ्याइ छ।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

तेह्रथुम- सानो घर। सानै परिवार। आर्थिक अवस्था भने कमजोर। बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर। घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल। यी र यस्तै समस्या भोग्दै आएको परिवारको हो, तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माको।

लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको राम्रो आम्दानीको स्रोत थिएन। गाउँमा जसोतसो साहुमहाजनको बनिबुतो गरेर चार जनाको परिवार गुजारा चलेको थियो।

जीवनका संघर्ष निकै कष्टकर थियो। कमाइ ल्याउने र पकाइ खानेमै सकस थियो उनको परिवारलाई। तर यतिबेला भने उनको दैनिकी फेरिएको छ। अचार बनाउने तालिममा सहभागी बनेकी उनलाई यतिबेला व्यावसायिक अचार उत्पादनमा भ्याइनभ्याइ छ।

हातमा सीप नहुँदा अरूकै घरमा ज्याला मजदुरी गर्दै आएकी उनले घरमै सञ्चालन गरेको व्यवसायबाट आम्दानी लिन थालेकी छन्। शारीरिकरूपमा समस्या रहेकी वासुकलालाई उद्योगमा काम गर्न बल नहुने भएकाले समस्या छैन।

गत वर्षदेखि मात्र सुरु गरेको उनको उद्योगबाट उत्पादन भएको अचारको माग पनि बढ्दो छ। घरायसी प्रविधिबाट अग्र्यानिक उत्पादन गर्ने गरेको उनको भनाइ छ।

‘हातमा सीप नहुँदा दिनभर अर्काको काम गर्न जाँदा खानै मुस्किल हुन्थ्यो। छोराछोरी पढाउन निकै मुस्किल हुन्थो। बल हुन्जेल अरूकै काम गरेर जीवन धानेका थियौँ। तर उमेर ढल्किँदै गएपछि र कमजोर भएपछि काम गर्न सकिएन,’ उनका श्रीमान् सूर्यबहादुर बिकले भने। त्यसपछि घर चलाउनै मुस्किल भएको पनि उनले बताए।

‘सुरुमा मैले थोरै लगानीमा सुरु गरेको हो। बजारमा अचारको माग बढेकाले लगानी थप्ने सोचमा छु। लगानी थपेर अचार व्यवसायलाई निरन्तरता दिने लक्ष्य छ,’ उनले भने। उनको उद्योगमा उत्पादन भएको अचार प्रतिकिलो एक हजारमा बिक्री गर्ने गरेका छन्।

उनले मेलिना अचार उद्योग स्थापना गरी गाउँमै व्यवसाय गर्दै आएका हुन्। खासगरी अकबरेको अचार उत्पादन गर्दै आएका छन्।

अचार उद्योगमा वासुकलाका श्रीमान् सूर्यबहादुरले साथ दिँदै आएका छन्। ‘सुरुका दिनमा अचार उत्पादन गरे पनि बजार नपाउने हो कि भन्ने डर थियो। तर यहाँ उत्पादन गरेको अचारले राम्रो बजार पाउँदा उत्साह जागेको छ,’ उनले भने, ‘बजारमा माग बढ्दो भए पनि परिवारले मात्र उत्पादन गरेकाले धान्न सकिएको छैन।’

अचार बिक्रीका लागि बजार खोजिरहनु पर्दैन। ग्राहकले फोनमार्फत माग गर्दै आएका छन्। ग्राहकले आफैँ खोजी गर्ने गरेकाले पनि अचार बिक्री हुन्न कि भन्ने डर छैन वासुकलालाई। जिल्लाको दुर्गम गाउँमा उद्योग स्थापना गरी पूर्वका विभिन्न सहरका साथै राजधानीसम्म निर्यात गर्दै आएको वासुकला बताउँछिन्।

यहाँ अकबरे मात्र नभई काँक्रा, मेहेल, अमला, गाँजर, बन्दालगायतका अचार उत्पादन हुने गरेको छ।  -रासस

प्रकाशित: Dec 11, 2022| 15:48 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्