धनुषा– जनकपुरधाम उपमहानगरले भूमि वर्गीकरण कार्य टुंग्याएको छ। वर्गीकरणअनुसार वडा–१ देखि १४ सम्मको जग्गा गैरकृषि र वडा–१२ को केही जग्गालाई कृषि क्षेत्रमा राखिएको छ।
अब रोकिएको कित्ताकाँट मालपोत र नापी कार्यालयबाट फुकुवा हुनेछ। जनकपुर उद्योग वाणिज्य संघलगायतले भूमि वर्गीकरणसम्बन्धी निर्णय गर्न उपमहानगरसित माग गर्दै आएका थिए। उपमहानगर प्रमुख मनोजकुमार साहले जग्गा वर्गीकरणको निर्णय भइसकेको बताए। उनले भने, ‘जग्गा वर्गीकरणको क्रममा सरकारले निर्धारण गरेको बसोबास क्षेत्रको आठ धुर जग्गा कित्ताकाँट हुने यथावत छ।’ उनले कृषि क्षेत्रको जग्गा दुई कठ्ठाभन्दा कम्तीको कित्ताकाट नहुने बताए।
वडा–१५ देखि २५ सम्मको जग्गामा कृषि र गैरकृषि क्षेत्र विभाजन गरिएको उनले बताए। ‘जग्गाधनीले आफ्नो जमिन कृषि योग्य क्षेत्रमा राख्न चाहे उपमहानगरमा निवेदन दिन सक्छन्’, मेयर साहले भने। जग्गाको वर्गीकरण भए पनि करमा कुनै प्रकारको वृद्धि नगरिएको उनले बताए।जग्गा वर्गीकरण गरिएको निर्णय शुक्रबार नापी र मालपोत कार्यालयलगायतका निकायमा पठाइएको प्रमुख साहले जानकारी दिए।
जग्गा वर्गीकरण नहुँदा कित्ताकाट रोकिएको थियो जसले गर्दा जग्गाको बेचबिखनसमेत रोकिएको थियो। उपमहानगरले वर्गीकरण टुंग्याएपछि केही दिन जग्गा खरिदबिक्रीमा तीव्रता आउने बताइएको छ। जनकपुरधाम उपमहानगरले वर्गीकरण टुंग्याए पनि धनुषा जिल्लाका अधिकांश पालिकाले जग्गाको वर्गीकरण गर्न सकेका छैनन्।–रासस