काठमाडौं– ग्लोकल प्रालिले भारत नयाँदिल्लीस्थित लिथुआनिया दूतावास र नबिल बैंकसँगको साझेदारीमा मधेस प्रदेशको लहान, जनकपुर र बर्दिबास सहरमा २०० महिलाका लागि वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ। छैटौं चरणको तालिम वित्तीय शिक्षा प्रवद्र्धन, नेपालमा महिलाको वित्तीय साक्षरता ज्ञान र सीपको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।
तालिमपछि आयोजित पत्रकार सम्मेलनमा लिथुआनियाली दूतावास, युरोपियन युनियनका प्रतिनिधि, नबिल बैंकका प्रतिनिधि र सञ्चारकर्मी उपस्थित थिए। तीन घन्टासम्म सञ्चालन गरिएको वित्तीय साक्षरता तालिमको प्रत्येक ब्याचमा ३५ जना सहभागी थिए। ६ ब्याचका लागि सम्बन्धित क्षेत्रका अनुभवी प्रशिक्षकले प्रशिक्षण दिएका थिए। परियोजनाले महिलालाई आर्थिक रूपमा सुरक्षित भविष्यका लागि लक्षित गरेको छ। यसबाट महिलाको थप उत्पादकत्व र जीवनस्तरमा योगदान पुग्न सक्ने बताइएको छ।
तालिममा महिलालाई डिजिटल वित्तीय माध्यमबारे जानकारी दिइनुका साथै आफ्ना वित्तीय स्रोत, बचत, लगानी र सुरक्षित गर्ने उद्देश्यले बैंक खाता खोल्न विधिरबो सिकाइएको थियो। तालिमको माध्यमबाट महिलालाई वित्तीय साक्षरताले खर्च गर्ने बानी, लगानी, आवश्यकता र चाहनाबीचको भिन्नतालाई कसरी परिवर्तन गर्छ भन्ने विषयमा जानकारी दिइएको थियो।
मधेस प्रदेशका युवती/महिलाको वित्तीय ज्ञान र निर्णय स्तर बुझ्न पूर्व–प्रशिक्षण सर्वेक्षण गरिएको थियो। तालिममा नबिल बैंकका प्रतिनिधिले सबै सहभागीको निःशुल्क बचत खाता खोलेका थिए।