बुधबार, असार २५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आयल निगमले अमलेखगन्जमा निर्माण गर्दै पेट्रोल ट्यांकी

आयल निगमले अमलेखगन्जमा निर्माण गर्दै पेट्रोल ट्यांकी

भारतको मोतिहारीदेखि नेपालको बारा अमलेखगन्जसम्म ६९ किलोमिटर ‘मल्टी पाइप लाइन’ विस्तार गरेर डिजेल ल्याउन सुरु गरेको निगमले पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारणगृह निर्माण तयारी थालेको हो।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

बारा– नेपाल आयल निगमले बाराको अमलेखगन्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारणगृह (ट्यांकी) निर्माण गर्ने भएको छ। २४ भदौ २०७६ मा भारतको मोतिहारीदेखि नेपालको बारा अमलेखगन्जसम्म ६९ किलोमिटर ‘मल्टी पाइप लाइन’ विस्तार गरेर डिजेल ल्याउन सुरु गरेको निगमले पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारणगृह निर्माण गर्ने तयारी थालेको हो।

पाइप लाइन विस्तार भएको ६९ किलोमिटर क्षेत्रमध्ये भारतमा ३३ र नेपालमा ३६ किलोमिटर भूभाग पर्दछ। उक्त पाइप लाइन विस्तारका लागि भारतीय आयल निगमले २ अर्ब भारु खर्च गरेको थियो। एउटै पाइप लाइनबाट पेट्रोल, डिजेल र मट्टीतेल ल्याउन मिल्ने भए पनि भण्डारणका लागि छुट्टै भण्डारणगृह नहुँदा पेट्रोल र मट्टीतेल पाइप लाइनबाट ल्याउन समस्या भएको थियो। अमलेखगन्जमा पेट्रोल र मट्टीतेलका लागि भण्डारणगृह नहुँदा पाइप लाइनको उपयोग ५० प्रतिशतभन्दा कम भएको छ।

अमलेखगन्जमा हाल डिजेल भण्डारणका लागि २ वटा ४५ लाख लिटरका ट्यांकी र ४१ लाख तथा अर्को ३९ लाख लिटरको ट्यांकी रहेको छ। उक्त क्षेत्रबाट हाल एकैपटक २१ गाडीले डिजेल भर्न पाउँछन्। पाइप लाइनमार्फत भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल ल्याँउदा निगमको वार्षिक २ अर्ब रकम बचत हुँदै आएको छ।

निगमको अमलेखगन्जका प्रमुख इन्जिनियर प्रदीपकुमार यादव पेट्रोल र मट्टीतेल ल्याउन  आयल निगमले छुट्टै भण्डारण गृह बनाउन सुरु गर्न लागेको बताउँछन्। ‘पेट्रोल भण्डारणगृह निर्माण गर्न हामीले भारतीय निर्माण व्यवसायी कम्पनी र भारतीय आयल निगमका प्रतिनिधिसँग निरन्तर छलफल गरिरहेका छौं’, उनले भने।

निगमले पेट्रोल भण्डारणगृह निर्माणका लागि २३ मंसिरमा भारतीय निर्माण कम्पनी र भारतीय आयल निगम पटनाका प्रमुखसँग भेटेर छलफल गरेको छ। पाइप लाइन बनाएर पूर्णरुपमा प्रयोग गर्न पेट्रोल भण्डारणगृह बनाउन लागिएको इन्जिनियर यादवको भनाइ छ।

उनले सन् २०२४ को जनवरीसम्म पेट्रोल भण्डारणगृह सम्पन्न गर्ने गरी काम अगाडि बढाउन लागिएको बताए। डिजेलका लागि भारत सरकारको अनुदानमा भण्डारणगृह निर्माण गरिदिए पनि पेट्रोल भण्डारणका लागि भने नेपाल आफैंले भण्डारणगृह बनाउन लागेको हो। त्यसका लागि १ अर्ब ५४ करोड भारु लाग्ने निगमले जनाएको छ।

यस्तै, भारतले पनि अनुदानस्वरुप ८० करोड  भारुमा छुट्टै पेट्रोल ट्यांकी निर्माण गरिदिने भएको छ। अमलेखगन्जमा पेट्रोल भण्डारणगृह निर्माण भएसँगै आयल निगमको मासिक १२ देखि १५ करोड तथा वार्षिक १ अर्ब ५० करोड रकम बचत हुनेछ। हाल अमलेखगन्ज डिपोबाट डिजेल तथा पेट्रोल संघीय राजधानी काठमाडौंसहित पोखरा, भैरहवा,  चितवन, विराटनगरलगायत क्षेत्रमा जाने गरेको छ।

निगमका अमलेखगन्ज प्रमुख यादव भारतको मोतीहारीदेखि नेपालको सर्लाहीसम्म ग्यास पाइपसमेत विस्तार गर्नेबारे परामर्श भइरहेको बताउँछन्। १२ अर्ब लागतमा ग्यास पाइप तथा स्टोरेजको काम हुने उनको भनाइ छ। नेपालबाट हाल ग्यास ढुवानी गर्दा वार्षिक ६ अर्ब खर्च हुँदै आएको छ।

निगम अमलेखगन्जका मेकानिकल इन्जिनियर प्रशान्त भट्टराई निगमको अमलेखगन्ज डिपोबाट देशको ७० प्रतिशत भूभागमा पेट्रोल, डिजेल तथा मट्टीतेल जाने गरेको बताउँछन्। ‘अमलेखगन्ज डिपोबाट दैनिक ६० लाख लिटर डिजेल तथा २० लाख लिटर पेट्रोल वितरण हुँदै आएको छ’, उनले भने। यो परियोजना सञ्चालनमा आएपछि नेपाल–भारतको रक्सौल नाकामा देखिने जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास निगमको छ।–रासस

प्रकाशित: Dec 10, 2022| 12:02 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्