बुधबार, असार २५, २०८२

म्याग्दीको टिमुर बेल्जियम र कोरिया निर्यात

म्याग्दीमा उत्पादित टिमुर बेनी, जोमसोम, पोखरा र काठमाडौंसहित विदेशमा निर्यात हुन थाल्यो।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

गलेश्वर–खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर खेती म्याग्दीका किसानका लागि आम्दानीको माध्यम बन्दै गएको छ। आयुर्वेदिक गुणको उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित नरहेर बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत निर्यात हुन थालेपछि यहाँका कृषकले राम्रो मूल्य पाउन थालेका छन्।

म्याग्दीमा सबैभन्दा धेरै टिमुर खेती बेनी नगरपालिका–१० स्थित तोरीपानीमा हुने गरेको छ। टिमुर कृषक आनन्द रिजालका अनुसार गत वर्ष यहाँ ५० मुरीभन्दा बढी टिमुर उत्पादन भएको थियो। यहाँ उत्पादित टिमुर बेनी, जोमसोम, पोखरा र काठमाडौंको बजारमा बिक्री हुनाका साथै विदेशमा समेत निर्यात हुन थालेको उनले बताए। प्रतिकिलो २ हजार ५०० देखि ४ हजारका दरले टिमुर बिक्री हुने गरेको सम्बद्ध कृषकले बताए।

बेनी नगरपालिका–९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब १५० घरधुरीले व्यावसायिक टिमुर खेती गर्छन्। जिल्लाको  २५ हेक्टर जमिनमा टिमुर खेती भएको कार्यालयले जनाएको छ। धेरैजसो कृषकले बोटबाट टिमुर टिपेर सुकाएर  बजारमा लैजाने गर्दछन्। कतिपय व्यापारी टिमुर खरिद गर्न गाउँमै आउने गरेको घतानस्थित भूमेसिद्ध टिमुर सञ्जालका अध्यक्ष सागर बानियाँले बताए।

यस वर्ष तोरीपानीमा ११० मुरी टिमुर उत्पादन हुने अनुमान गरिएको उनले जानकारी दिए। सन्जालअन्तर्गत १९ समूहका करिब १०० घरधुरी कृषकले टिमुर खेती गरेका छन्। तोरीपानीका साथै नेप्टेचौर, स्यानीखेत, काउलेगौडा, भगवती, नारच्याङ, वेग, पिप्ले, ताकम, दरवाङ र मुदी टिमुर खेतीका लागि पकेट क्षेत्र हुन्।

असोज–कात्तिक टिमुर टिप्ने उपयुक्त समय भए पनि यस वर्ष फलेको फल बोटमै पकाएर टिप्ने योजना रहेको यहाँका कृषकले बताए।टिमुर खेतीले यहाँका विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आएको छ। स्थानीय जुनकिरी परियारले आफ्नो आम्दानीको मुख्य स्रोत नै टिमुर भएको बताइन्। गत वर्ष टिमुर बिक्री गरेर ३५ हजार आम्दानी भएकामा यस वर्ष फल लाग्ने समयमा असिना र पानी परेकाले टिमुर उत्पादन घट्नाका साथै आम्दानी पनि कम हुने चिन्तामा रहेको उनले उल्लेख गरिन्।

जिल्लामा टिमुर उत्पादन र बजारीकरणका लागि सघाइरहेको गैरसरकारी संस्था इको हिमाल नेपालका कार्यकारी प्रमुख एकनारायण ढकालले टिमुर खेतीको सम्भाव्यता अध्ययन गरी जर्मनीको प्रयोगशालामा परीक्षण गरेर अन्तर्राष्ट्रिय बजारमा लैजान सघाइरहेको बताए। यस वर्ष यहाँका कृषकलाई टिमुर टिप्न सजिलो होस् भनेर १० लाख मूल्य बराबरका औजार उपलब्ध गराएको पनि उनले जानकारी दिए।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले जिल्लामा वार्षिक करिब ६ मेट्रिक टन हाराहारी टिमुर उत्पादन हुने बताए। फूल फुल्ने र फल लाग्ने समयमा परेको असिनापानीले यसपालि टिमुर उत्पादनमा कमी आएको उनको भनाइ थियो।

टिमुरलाई दाल र चटनीमा मसलाको रुपमा प्रयोग गरिन्छ। मुखमा राख्दा रमरम गर्ने स्वाद पाइने टिमुरको प्रयोगबाट न्यानोपन बढ्नुका साथै तरकारी, दाल र अचारमा मसलाको रुपमा तथा जडीबुटीको रूपमा प्रयोग गरिन्छ। गाईवस्तुबाट खेतबारीमा लगाएको बाली जोगाउन बारको रूपमा लगाइने टिमुरको बजारमा माग बढेपछि व्यावसायिक रूपले खेती विस्तार भइरहेको छ।–रासस

प्रकाशित: Dec 09, 2022| 17:55 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्